सुनसरी । भारतसँग ६२ किलोमिटर सीमा जोडिएको सुनसरीको बर्जू गाउँपालिकामा सशस्त्र प्रहरी बलले सीमा सुरक्षा पोस्ट स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

कोरोना महामारीको समयमा स्थापना भएको फरवार्ड वेशलाई सशस्त्र प्रहरी बलले बेओपीको रूपमा सञ्चालनमा ल्याएको हो ।

बर्जू गाउँपालिका ४ मा स्थापना भएको उक्त बेओपीको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीका बाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलले उद्घाटन गरेका छन् ।

बिओपी स्थापना भएसँगै सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण सँगै सीमा अपराध नियन्त्रणमा सहयोग पुग्ने सशस्त्र प्रहरीले जनाएको छ । उक्त बिओपीले ३ दशमलव ९ कि.मि क्षेत्र भित्रको ५१ वटा सीमा स्तम्भको रेखदेख, सुरक्षा र सीमा अपराध नियन्त्रण जस्ता कार्य गर्ने सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी समेनन्द बज्राचार्यले जानकारी दिए ।

बुधवार उद्घाटन भएको उक्त बिओपसँगै सुनसरीमा सशस्त्र प्रहरीको बिओपी संख्या ९ पुगेको छ ।