सुनसरी - इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकणर् पौडेलले अपमानित र लाञ्छना लगाउने काम गरेको भन्दै निजी विद्यालयका सञ्चालकहरूले आपत्ति जनाएका छन् ।
आइतबार इटहरीमा पत्रकार सम्मेलन गर्दै निजी विद्यालय सञ्चालकहरूले नगरप्रमुख जस्तो जिम्मेवार पदमा बसेका मान्छेले शिक्षालयको गम्भीर अवमूल्यन गरेको बताएका हुन् । शनिवार नगरप्रमुख पौडेलले फेसबुकमा भिडियो पोष्ट गर्दै संस्थागत विद्यालयले किताब, कापी, मोजा र ड्रेस बिक्री गरेर लुटिरहेको बताएका थिए ।
उनले वार्षिक शुल्क र परीक्षा शुल्कको नाममा मनपरी शुल्क लिएर निजी विद्यालय सञ्चालकहरूलाई लुटेराको संज्ञा दिएका थिए । भिडियोमा नगरप्रमुख पौडेलले निजी विद्यालयको छाता सङ्गठन प्याब्सनमा सम्बद्ध नेताहरूले दलको झोला बोकेर न्यायाधीशलाई मिलाउन भन्दै विद्यालय सञ्चालनसँग पैसा मागेको आरोप समेत लगाएका थिए ।
उक्त आरोपको विरुद्धमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन इटहरी, उच्च माध्यमिक शिक्षालय संघ हिसान सुनसरी र नेपाल निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन एनप्याब्सन इटहरीले खेद व्यक्त गरेका हुन् ।
नगर क्षेत्रका सबै विद्यालयले एउटै पोसाक लगाउनुपर्ने बाध्यात्मक व्यवस्थाले अभिभावकमा भार परेको उनीहरूको भनाइ छ । पोसाकमा एकरूपता कायम गर्न नसकिने बताउँदै प्रचलित शिक्षा नियमावली र इटहरी उपमहानगरपालिकाको शिक्षा ऐन अनुसार आफूहरू अगाडि बढेको हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले बताए ।
नगरप्रमुख पौडेलले बारम्बार फेसबुक मार्फत गालीगलौज गर्ने काम भएपछि आफूहरू न्यायालय पुग्नुपरेको विद्यालय सञ्चालकहरूको भनाई छ । इटहरी उपमहानगरले सबै विद्यालयमा एउटै पोसाक लागु गर्ने र शुल्क वृद्धि गर्दा निजी विद्यालयहरूले अभिभावकहरूको दुई तिहाइ भेलाबाट पारित गराउनुपर्ने लगायतका निर्णय गरेपछि निजी विद्यालयको तर्फबाट प्याब्सन इटहरी सचिव सूर्यमणि निरौलाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन् ।
उक्त दायर रिट उपर उच्च अदालतले फाल्गुन ३० गते उपमहानगरलाई जवाफ पेस गर्न आदेश दिएको छ ।