इटहरी । समाचार सङ्कलनको क्रममा इटहरी उप महानगरपालिका परिसरमा पुगेका पत्रकार कृष्ण बहावको मोबाइल खोस्दै नगर प्रहरीले दुर्व्यवहार गरेका छन् । सिटी सफारी चालकहरूले गरेको आन्दोलनको फोटो तथा भिडियो खिच्ने क्रममा इटहरी उप महानगरका नगर प्रहरीले शिला पत्र डटकममा कार्यरत पत्रकार बहाबको क्यामरा खोस्दै दुर्व्यवहार गरेका हुन् । बहावले पत्रकार भनेर परिचय पत्र देखाउँदा देखाउँदै पनि नगर प्रहरीले हातपात समेत गरेको पत्रकार बहावले बताए । उनले हिजो मात्रै शिला पत्र डटकममा अदालतको मुद्दा जित्न बनाइयो किर्ते कानुन इटहरीको शिक्षा ऐनमा पालिकाबाटै चलखेल भन्ने समाचार लेखेका थिए । 
यसैबिच पत्रकार बहाव माथि भएको दुर्व्यवहार र हातपातको नेपाल पत्रकार महासङ्घ सुनसरीले विरोध गरेको छ । यस्तै प्रेस चौतारी सुनसरीले पनि पत्रकारहरूको लोख्न र बोल्न पाउने हक सुरक्षित गर्न इटहरी उप महानगरपालिकासँग माग गरेको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीका सचिव ध्रुव ढकालले विज्ञप्ति जारी गर्दै उक्त घटनाका दोषीलाई पक्राउ गरी तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्  । जारी विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्बाध र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।  विज्ञप्तिमा  रिपोर्टिङ गर्ने सिलसिलामा इटहरी उपमहानगरपालिकाको गेटै अगाडी नगर प्रहरीहरूबाट मोबाइलसमेत खोसेर दुर्व्यवहार गरेको  घटनाप्रति नेपाल पत्रकार महासङ्घ सुनसरीको गम्भीर ध्यानाकर्षण भएको
उल्लेख छ । यस्तै प्रेस चौतारी सुनसरीले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभए आन्दोलन गर्नुको विकल्प नभएको जनाएको छ । विज्ञप्तिमा दोषीलाई तत्काल कारा वाही गर्न माग गरिएको छ ।  विज्ञप्तिमा रिपोर्टिङ गर्दै गर्दाको समयमा नगरप्रहरीहरुले पत्रकार बहावलाई रोकेर मोबाइल खोस्ने, धकेल्ने, कुट्ने र पत्रकार हुँभन्दा भन्दै पनि ‘पत्रकार होस्, ठेगानमा बस् नभए ठेगान लगाइदिउँला भन्ने जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निरङ्कुश शैलीमा हस्तक्षेप र आक्रमण हुनु अत्यन्त निन्दनीय र लोकतन्त्रप्रतिकै आक्रमण भएको उल्लेख छ ।