विराटनगर । विराट गोल्ड कप यही चैत १५ देखि २४ गतेसम्म शहीद रङ्गशालामा सञ्चालन हुने भएको छ ।  प्रतियोगितामा भुटान, भारत र नेपालका १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष किशोर शाहीले जानकारी दिए । विराट गोल्ड कप ट्रस्टको आयोजनामा हुने प्रतियोगिता डे नाइट हुनेछ । प्रतियोगिताको पुरस्कार राशि भने झन्डै आधा घटाइएको छ । प्रतियोगिताको विजेताले गत वर्ष २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएकोमा यो वर्ष विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । 
आर्थिक मन्दी र गत वर्ष घाटा भएका कारण यो वर्ष पुरस्कारको राशि घटाइएको   शाहीले बताए ।  २०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्ड कप २०६२–०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्ड कपको नामबाट सञ्चालन हुँदै आएको छ । गत वर्ष विराटनगर फुटबल क्लब प्रतियोगिताको विजेता बनेको थियो भने भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो ।
पत्रकार सम्मेलनमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट गोल्ड कप सफल बनाउन सबैलाई आग्रह गरे ।  विराट गोल्ड कप ट्रष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कोइरालाले विराट गोल्ड कप विराटनगरको शान भएकाले सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए ।  गोल्ड कप सफल बनाउन पत्रकारहरूको विशेष भूमिका हुने भएकाले प्रचारप्रसार गरेर सहयोग गर्न उनले आग्रह गरे । 

महेन्द्र गोल्ड कप हुँदै विराट गोल्ड कपसम्म आइपुग्दा धेरै नै आरोह अवरोह पार गरेको भन्दै मेयर कोइरालाले गोल्ड कप असफल हुँदा विराटनगर नै असफल हुने तर्क गरे  ।  विराटनगरको नामसित जोडिएको प्रतियोगितालाई भव्य रूपमा सफल बनाउने दायित्व सबैको भएको उनको भनाइ थियो ।