विराटनगर । प्रेममा असफलता पाएपछि कोशी प्रदेशमा एक महिना यता तीन जनाको हत्या भएको छ । 
एउटा घटनामा प्रेमीकाको हत्यापछि प्रेमीले समेत आत्महत्या गरेका छन् । प्रेमीकाले धोका दिएको भन्दै पथरी, विराटनगर र धरानमा प्रेमीले प्रेमिकाको हत्या गरेको समाचार सार्वजनिक भएका छन् । 
घटना संलग्न रहेको अभियोगमा प्रेमी पक्राउ परेका छन् । तीन दिन अघि सुनसरीको धरानमा सुमना श्रेष्ठको शव फेला परेको छ । उनको प्रेमी सविन भुजेलले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 
भुजेल सहित ६ जनालाई धनकुटाको मुलघाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
श्रेष्ठको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र रहेको डिपो स्कुल नजिकैको खोल्सीमा घाँटी काटिएको अवस्थामा शव फेला परेको थियो । 
प्रेममा धोका दिएका कारण हत्या गर्नुपरेको पक्राउ परेका भुजेलले प्रहरी समक्ष स्वीकार गरेको  प्रहरीले जनाएको छ ।
प्रेममा असफल भएपछि सिराहाका शिवशङ्कर दासले गएको चैत्र २ गते नोबेल मेडिकल कलेजमा कार्यरत नर्सको हत्या गरेका थिए । 
प्रेममा परेपछि वैदेशिक रोजगारीमा  मलेसिया गएका दासले नर्स चन्द्रिका कुमारी दासको अर्कै व्यक्तिसँग प्रेम बसेको थाहा पाएपछि धारिलो हतियारले हानेर हत्या गरेका थिए । 
उनी फागुनको २७ गते नेपाल आएका थिए । २९ गते विराटनगर आएर नर्स चन्द्रिकाकुमारीसँग बसेका दासले डेरामा नै हत्या गरेको जिल्ला प्रहरी कार्यालय  विराटनगरले जनाएको छ । 
Dharan

प्रेमिकाको हत्या गरेपछि शिवशङ्करले पनि विराटनगरको फाइन होटलमा झुन्डिएर आत्महत्या गरेका छन् ।  
दास झुन्डिएको अवस्थामा आइतबार राति विराटनगरको एक होटलमा फेला परेका छन् । चन्द्रिकाको हत्या भएको स्थान भन्दा ३ सय मिटर नजिकै फाइन होटलको कोठा नम्बर १०२ मा शिवशङ्कर दास झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
नर्स चन्द्र कुमारी विराटनगर–४ मा रहेको डेराको बाथरुममा शुक्रवार शव भेटिएको थियो ।
गत फागुन २० गते  मोरङको पथरीमा ज्ञानमती थुलुङ्गको हत्या भएको थियो । १५ बर्सिया किशोरी थुलुङ्गको हत्यामा पनि प्रेम सम्बन्ध जोडिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले बताए । 
मोरङको पथरीशनिश्चरे–७ लामा टोलीमा बस्दै आएकी १५ वर्षीय सन्जना भनिने ज्ञानमती थुलुङ राईको हत्या मोरङ ग्रामथान गाउँपालिका घर भएका धिरेनकुमार खाँ ले गरेका थिए । 
उनी  बाराको जितपुर सिमरा उपमहानगरपालिकामा बस्दै आएका थिए । उनीहरू पनि केही समय अगाडिदेखि प्रेममा रहेको प्रहरीले जनाएको छ । हत्या आरोपी चौधरी विवाहित हुन् । 
उनकी श्रीमती चार वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा कतारमा छन् । श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक सञ्जालमार्फत किशोरीसँग चिनजान भई नजिकिएको प्रहरीले जनाएको छ । 
सामान्य खटपट मै श्रीमतीको हत्या 
Belbari
मोरङको बेलबारीमा मङ्गलवार राति बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरे । दाउले हानेर श्रीमतीको हत्या गरेपछि उनी आफैले पनि आत्महत्या गरेका छन् । लिम्बुले दाउले घाँटी रेटेर आत्महत्या गरेका हुन् । 
बेलबारी–१ स्थित ६५ वर्षीय बमबहादुर लिम्बूले मङ्गलवार राति ४५ वर्षीय श्रीमती गीता लिम्बुको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनीहरू दुवैको दोस्रो विवाह हो । ८ वर्ष अघि दुवैले दोस्रो विवाह गरेका हुन् । प्रहरीका अनुसार उनीहरूका बिचमा  झगडा भइरहने गरेको खुलेको छ । शङ्काका आधारमा झगडा हुने गरेको खुलेको प्रहरी निरीक्षक तेज दाहालले बताए  ।   उनीहरूका ८ बर्सिया छोरा छन् । 
माघमा झापाको भद्रपुर नगरपालिका–७ का ५८ वर्षीय साहेबा उराँउले पनि श्रीमतीको हत्या गरेका थिए । उनले ६० बर्सिया श्रीमती फिल्सिता उराँउको हत्या गरेपछि उनी पक्राउ परेका छन् ।