विराटनगर । साहित्यकार प्राज्ञ दधिराज सुवेदीको  निधन भएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ३ निवासी  सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको हो । २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका सुवेदीका  दुई छोरा, एक छोरी र श्रीमती छन् ।
पछिल्लो केही समययता क्यान्सर रोगबाट पीडित सुवेदीको उपचारकै क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको परिवारले जनाएको छ।  उनका छोरा शरदराज सुवेदीका अनुसार बुधवार बिहान ३ बजे सुवेदीको निधन भएको हो । उनको विराटनगरस्थित परोपकार घाटमा बुधवार दाहसंस्कार गरिनेछ ।
नेपाली भाषा र साहित्यमा योगदान दिएका सुवेदी विराटनगरलाई कर्म क्षेत्र बनाएर सक्रिय थिए । कर्मशील व्यक्तित्व रूपमा परिचित उनले खोज तथा अनुसन्धानमूलक दर्जनौँ ऐतिहासिक पुस्तक लेखेका छन् । विराटनगरको इतिहास उधिनेर पुस्तकको रूप दिएका सुवेदी लेखन र समालोचना गर्न मन पराउँथे । 
सुवेदीले नगर पञ्चायतमा बहिदार पदमा जागिर सुरु गरेका थिए ।  पछि नेपाल खानेपानी संस्थान स्थापना हुँदा नगरपालिकाको एक फाँटअन्तर्गत काम गरेर उनी निवृत्त भए । विराटनगरमा आदर्शरात्री र कन्या क्याम्पस स्थापना भएपछि उनले त्यहाँ केही वर्ष पढाएको उनका भाइ दिनेशराज सुवेदीले बताए ।  पछि पूर्वाञ्चल विश्वविद्यालयमा सूचना अधिकृतको रूपमा १२ वर्षसम्म काम गरे । सुवेदीका मौलिक कृति एक दजर्न, सम्पादित कृति १५० छन्  । विभिन्न लेखकहरूको दुई सय किताबमा उनले भूमिका लेखेका छन् । उनी ढेड सय संस्थामा आजीवन सदस्य थिए ।  मोरङमा साहित्यको उत्पति र विकास पछिल्लो पटक प्रकाशन भएको उनको कृति हो ।