धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटा बजारको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा मन्त्रालयको तर्फबाट एक करोड बजेट उपलब्ध गराउने घोषणा गरेका छन् । नवनियुक्त मन्त्री राईलाई बधाई तथा सम्मानका लागि धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो घोषणा गरेका हुन् ।
खानेपानी उपभोक्ता समितिलाई अहिले एक करोड दिने र आगामी आर्थिक वर्षमा आवश्यकता अनुसार पुनः बजेट थप गर्ने मन्त्री राईको भनाई छ । ‘देशभरको खानेपानी समस्या समाधान गर्ने जिम्मेवारी मेरो काँधमा आएको छ । त्यसमा पनि मेरो गृह जिल्ला भएकाले धनकुटाको समस्या समाधान गर्नुपर्ने काम प्राथमिकतामा रहन्छ,’ मन्त्री राईले भने, ‘धनकुटा बजारको खानेपानीका लागि यो वर्ष एक करोड बजेट आउँछ, अर्को वर्ष आवश्यकता अनुसार क्रमशः बजेट थप गर्दै जाउला ।’
सो अवसरमा खानेपानी उपभोक्ता समिति अध्यक्षसमेत रहेका धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले खानेपानी समस्या समाधानका लागि बजेट माग गर्दै मन्त्री राईलाई माग पत्र पनि बुझाएका छन् ।