इटहरी । थारु भाषालाई राजकीय मान्यता प्रदान गर्नुपर्ने थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले बताएका छन् । 
थारु संस्कृति जोगाउन भाषा जोगाउनुपर्ने र थारु भाषा जोगाउन राजकीय मान्यता प्रदान गर्नुपर्ने उनको भनाई छ ।

मङ्गलवार इटहरीमा ग्रामथान संरक्षण समितिको छैटौँ साधारण सभामा बोल्दै थारु आयोगका अध्यक्ष चौधरीले थारु भाषालाई स्थानीय सरकारको कामकाजको भाषा बनाउनुपर्ने बताएका छन् । 

साधारण सभामा उनले भने, ‘संस्कृति विना कोही बाँच्न सक्दैन, संस्कृति जोगाउन सकिएन भने अर्कोले प्रवेश पाउँछ । संस्कृति जोगाउन पहिले भाषा जोगाउनुपर्छ । त्यसका लागि भाषालाई राजकीय मान्यता प्रदान गर्नुपर्छ । ’

कोसी प्रदेशका सांसद जय प्रकाश चौधरीले ग्रामथान र थान मान्ने समुदायका लागि ऐन बनाउने प्रयास भइरहेको जानकारी दिए । कोसी प्रदेशबाट तराईका आदिवासी समुदायका लागि थान संस्कृतिहरू कुनै जातिको मात्रै नभएर त्यो राज्यको सम्पत्ति भएकाले त्यसको संरक्षण गर्नुपर्ने बताए । 

यस्ता सम्पत्तिको संरक्षण गर्न कानुनको आवश्यकता महसुस गरी झापा, मोरङ र सुनसरीमा पुगेर ग्रामथान र संस्कृतिको विषयमा छलफल सञ्चालन गरिरहेको सांसद चौधरीले जानकारी दिए । 

tharu 3

ग्रामथान संरक्षण समितिका सल्लाहकार तथा नागरिक उन्मुक्ति पाटीका उपमहासचिव पदम अधिकारीले दिगो विकासको लक्ष्य प्राप्त गर्न पनि ग्रामथान र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । 

ग्रामथान र यसका संस्कृतिको विशेषतालाई आत्मसाथ गर्दै विकासका कार्य सञ्चालन गर्न सके स्थानीय पालिकाहरूलाई प्रकोप व्यवस्थापनमा ठुलो सहयोग पुग्ने अधिकारीले बताए । आदिवासीहरूको क्षेत्रमा प्रकोप व्यवस्थापनका विशेष उपायहरू हुने भएकाले त्यसलाई स्थानीय पालिकाहरूले अवलम्बन गर्न सक्ने उनको सुझाव थियो । 

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले थारु समुदायका कला,संस्कृति ,परम्पराहरू युवा पुस्तामा हस्तान्तरण नभएका कारण लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका थिए । 

कार्यक्रममा ग्रामथान संरक्षण समितिका अध्यक्ष सुनसरीमा ग्रामथानको अवस्थाको बारेमा जानकारी दिएका थिए । ग्रामथान संरक्षणमा स्थानीय सरकारहरूले पहल गर्नुपर्ने बताए । विशेष गरी ग्रामथानको सूचीकरणको काम गरिदिन अध्यक्ष चौधरीले पालिकाहरूलाई आग्रह गरे । 

इटहरी १६ मा रहेको जब्दी थान परिसरमा आयोजना गरिएको कार्यक्रममा कोसी प्रदेश सभा सदस्यद्धय जयप्रकाश चौधरी , सुनिता गच्छदार, वडा अध्यक्ष तेज नारायण चौधरी, रामधुनी नगरपालिका पूर्व नगरप्रमुख जय प्रकाश चौधरी ,थारु कल्याण कारिणी सभा केन्द्रीय सदस्य सुशीला चौधरी लगायतका वक्ताहरूले ग्रामथान संरक्षणका विषयमा बोलेका थिए ।

कार्यक्रम ग्रामथान संरक्षण समितिका अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

tharu