सुनसरी - सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि स्थिति सामान्य बन्न सकेको छैन ।
हरिनगरको भुटाह बजार बिहानैबाट तनावग्रस्त बनेको छ । शुक्रवार मध्यान्न १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हरिनगर गाउँपालिकाको सबै वडा र देवानगञ्जको १ र ७ नम्बर वडामा निषेधाज्ञा जारी भए पनि स्थानीयले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ ।
photo1
प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारी घाइते भएको स्थानीय सञ्चारकर्मी जुगेश बाबुले जानकारी दिए ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ । सो क्रममा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम भटराइले जानकारी दिए । उनीहरूको विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको भटराइले बताए ।
photo 5
बिहीबार एसइइ परीक्षाको क्रममा हरिनगर गाउँपालिका वडा नम्बर १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिट पछि दुई समुदायका बिचमा तनाव बढेको थियो । दुवै समूहका स्थानीयहरू झडपमा उत्रिएपछि शुक्रवार बिहानैबाट तनाव सृजना भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
photo 3
बिहीबार साँझ स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिट पछि दुवै समूहका बिचमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उक्त झडपमा दुई प्रहरी सहित एक जना स्थानीय घाइते भएका थिए ।
स्थिति थप बिग्रन नदिन सो क्षेत्रमा निषेधाज्ञा जारी गरिए पनि अवस्था सामान्य बन्न नसकेको  सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी भटराइले बताए  ।