विराटनगर । आठौँ संस्करणको विराट गोल्ड कप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र एफसि काठमाडौँ र घरेलु टिम साङ्ग्रिला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रङ्गशालामा शनिवार ६ः४५ बजे हुने फाइनलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्ड कपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली तेस्रो पटक गोल्ड कपको उपाधि हात पार्ने दाउमा रहेको छ । 
साङ्ग्रिलाले इटहरी गोल्ड कपको च्याम्पियन चर्च ब्वाईज युनाइटेड र पाहुना टोली भुटानको आरटिसि एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । साङ्ग्रिलाले क्वाटरफाइलनमा भुटानको आरटिसिलाई  ३–० गोलले र सेमिफाइनलमा  चर्च ब्याइजलाई सडनडेथमा ४–३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । 
विराट गोल्ड कपको पहिलो पटक फाइनलमा पुगेको मच्छिन्द्रले क्वाटर फाइनलमा  कोलकाता साउर्थन समिति २–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा मच्छिन्द्रले सिक्किम ड्रागान भारतलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो । 
साङ्ग्रिलाले लिग विजेता र इटहरी गोल्ड कपको च्याम्पियन भएको सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले खेलाडीमा मनोबल उच्च देखिन्छ । घरेलु टोलीले तेस्रो पटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्‍याएको हो ।
 यसअघि २०१८ सालमा तत्कालीन महेन्द्र गोल्ड कपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपबिजाते भएको थियो । त्यस बेलाको पहिलो उपाधि भारतको कलकत्ताले गोल्ड कपको उपाधि जितेको थियो । २०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । गत वर्षको सातौँ संस्करणमा विराटनगर सिटीले गोल्ड कपको उपाधि जितेको थियो । पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई फाइनलमा पराजित गर्दै विराटनगर सिटीले उपाधि हात पारेको थियो ।  त्यसपछि आठौँ  संस्करणसम्म आइपुग्दा घरेलु टिम फाइनलमा पुगेको हो । 
विराटनगरमा शुक्रवार  प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्ड कपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आठौँ संस्करणको विराट गोल्ड कपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘यो सँगै सिजनको तेस्रो पटक गोल्ड कपको उपाधि जित्ने लक्ष्यको साथ खेलाडी मैदान उत्रिनेछन्,’ उनले भने, ‘यसअघि केपी ओली कप र बागमती गोल्ड कपको उपाधि जितिसकेका छौँ ।’  मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पहिलो पटक फाइनल पुगेकोले नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा रहेको उनले बताए ।  नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाई छ । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने ।
साङ्ग्रिलाका प्रशिक्षक रानु राना मगरले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘मच्छिन्द्र राम्रो टिम हो । अनुभवी खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रदर्शन गर्नेछौ,’ उनले भने, ‘हामी ग्राउन्ड लेभलबाट खेल खेल्नेछौँ ।’ 
साङ्ग्रिलाका कप्तान अभिषेक लिम्बुले होम ग्राउण्डमा घरेलु दर्शकको साथ सहयोग र  हामीले उत्कृष्ट खेल प्रदर्शन गर्ने भएको कारणले  गोल्ड कपको फाइनलको उपाधि जित्ने दाबी गरे ।  ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशाबादी छौँ,’ उनले भने, ‘अघिल्ला खेलको कमीकमजोरी सुधारेर प्रदर्शन गर्ने र च्याम्पियन बनेरै छाड्नेछौं  ।’ लिग विजेता चर्च ब्वाइज र पाहुना टोली भुटान टिमलाई  जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क रहेको उनको भनाई छ ।

चैत १५ देखि जारी प्रतियोगितामा  विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी रहेको विराट गोल्ड कप फुटबल ट्रस्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । गोल्ड कपको विजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।