सुनसरी । चितवनमा आइतबार देखि सुरु हुने अन्तर प्रदेश खेलकुदमा कोसी प्रदेशबाट दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगितामा सहभागी हुने कोसी प्रदेशका खेलाडीहरूलाई शनिवार बिहान बिदाइ गरिएको छ । इटहरी रंगशालामा कोसी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्ले, उपाध्यक्ष बिन्दिया कार्की लगायतले खेलाडीहरूलाई बिदाइ गरेका हुन् ।
bidai1
कोसी प्रदेशका विभिन्न जिल्लाबाट छनौट भएर आएका खेलाडीहरू एक साता यता इटहरी रङ्गशालामै बन्द प्रशिक्षणमा रहेका थिए । महिला क्रिकेट र स्विमिङका खेलाडी भने चितवन पुगिसकेका छन् ।
शनिवार महिला तथा पुरुष फुटबलतर्फ ४०, भलिबलका २८, तेक्वान्दोका २५, एथलेटिक्समा ३९, करातेमा २४, बक्सिङमा १७ र ब्याडमिन्टनमा ८ जना गरी एक सय ८१ खेलाडी चितवन हिँडेका हुन् । खेलाडीहरूलाई बिदाइ गर्दै कोसी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेशको मात्र नभएर सिङ्गो राष्ट्रको नाम राख्ने गरी खेल्न आग्रह गरे ।
कोसी प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव हंसराज वाग्लेले प्रतियोगितामा सहभागी हुने खेलाडीको तयारीलाई आधार मान्दा उत्कृष्ट नतिजा आउने दाबी गरे ।
bidai
विभागीय खेलाडीको सहभागिता नरहने भएकाले पनि नतिजा राम्रो हुने बताउँदै उनले तयारी राम्रो सम्पन्न भएको जानकारी दिए । समूहगत तर्फको भलिबल, फुटबलमा र महिला क्रिकेटतर्फ मेडलको अपेक्षा गरेको उनले बताए ।
चितवनमा आइतबारदेखि आगामी वैशाख १ गतेसम्म बाग्मती प्रदेशको आयोजनामा अन्तर प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ । चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गर्ने छन् ।
bidai2
प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुने छ । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुने आयोजकले जनाएको छ ।
पुरुष फुटबल हेटौडास्थित गौरी टार रंगशालामा हुने छ । प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ ।