विराटनगर । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ का लागि लिइएको प्रवेश परीक्षामा २ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । 
बाल कक्षादेखि ९ कक्षासम्म छात्रा ८७५ जना र छात्र १२३९ गरी जम्मा २ हजार १ सय १४ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । ३७८ जना विद्यार्थीका लागि लिइएको परीक्षामा यति धेरै विद्यार्थी सामेल भएका हुन् । सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल आदर्शमा हाल ३ हजार ४ सय ७६ विद्यार्थी अध्ययनरत रहेका छन् । 
प्रत्येक वर्ष यस विद्यालयप्रति विद्यार्थीको आकर्षण भए पनि सबै विद्यार्थीको भर्ना लिने चाहना हुँदाहुँदै पनि विद्यालयको भौतिक पूर्वाधारको सीमितताको कारण सबै विद्यार्थी भर्ना गर्न नसकिएको प्रधानाध्यापक पोखरेलले बताए । हाल विद्यालयमा छात्र र छात्राको सङ्ख्या लगभग बराबरीको अवस्थामा रहेको उनको भनाइ थियो ।  हाल विद्यालयमा कक्षा १ देखि १२ सम्मका अतिरिक्त प्राविधिक शिक्षा कार्यक्रमअन्तर्गत १८ महिने र २४ महिने कम्प्युटर तालिम ३ वर्षे डिप्लोमा इन कम्प्युटर र डिप्लोमा इन सिभिलका कक्षाहरू सञ्चालन छन् ।