सुनसरी - सुनसरीको हरिनगर, देवानगन्ज लगायत क्षेत्रमा चार दिनदेखि लगाइएको कर्फ्यु आज दिउसो सम्मका लागि कायमै राखिएको छ ।
हिजो अपराह्नपछि फेरि प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु लम्ब्याएको हो । हरिनगरमा हिजो अपराह्न चर्किएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर र २९ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।
प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्नुका साथै कुटपिट गर्दा प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीसहित नौ प्रहरी घाइते भएपछि प्रशासनले हरिनगर र देवानगञ्ज गाउँपालिका सबै क्षेत्रमा कर्फ्यु कडाइका साथ लागु गर्ने जनाएको छ ।
सुनसरीका अरू स्थानीय तह इनरुवा नगरपालिका, कोसी र भोक्राह नरसिंह गाउँपालिका क्षेत्रमा भने सामान्य रूपमा कर्फ्यु लागु हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।
गत बिहीबार हरिनगर गाउँपालिकामा दुई समूहबिच झडप भएपछि अवस्था असामान्य बनेको हो ।
दुई समूहबिच घटनाले सामाजिक सद्भाव भड्किन नदिन र जनताको जिउधनको सुरक्षाका लागि गत बिहीबारदेखि कर्फ्यु लगाइएको हो ।