सुनसरी — सुनसरीमा गोली प्रहार गरी ५ लाख रुपैयाँभन्दा बढी रकम लुटपाट गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यलयले लुटपाटमा संलग्न सप्तरी हनुमान कंकालिनी-३ का २९ वर्षीय इब्रान मन्सुरी मियाँ र सुनसरीको भोक्राहा नरसिंह-४ का ३६ वर्षीय उमेश मुखियालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएको एउटा मोटरसाइकल र नगद १ लाख २ हजार रुपैयाँ समेत बराबद गरेको छ । उनीहरुले गत बुधबार दिउँसो इनरुवा-९ स्थित नहरको डिलमा सुनसरी हरिनगर-२ का ६१ वर्षीय साहिरा मियाँ र उनकी नाती आसिफ अन्सारी माथि गोली प्रहार गरी ५ लाख ३५ हजार रुपैयाँ लुटपाट गरेका थिए ।

जग्गा बिक्री गरेर ५ लाख ३५ हजार रुपैयाँ लिएर घर फर्किरहेका उनीहरुको साथबाट लुटिएको १ लाख २ हजार रुपैयाँ मात्र बरामद भएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक नबिनकृष्ण भण्डारीले जानकारी दिए । लुटपाटमा संलग्न अन्य एक जनाको पहिचान भइसकेको र बाँकी रकम समेत चाँडै बरामद गरिने भण्डारीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।