विराटनगर । पछिल्लो समय विराटनगरका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको आकर्षण बढेको छ। चैतको २५ र २६ गते विराटनगरमा नाम चलेका निजी विद्यालयहरूबाट सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या उल्लेख्य देखियो । सोमबार पोखरिया माध्यमिक विद्यालयले २ हजार ४३१ जनालाई प्रवेश परीक्षामा सहभागी गराएको छ। त्यस्तै विराटनगरमा नै रहेको आदर्श माविले आइतबार लिएको प्रवेश परीक्षामा २ हजार ११४ जना विद्यार्थी सहभागी गरायो । त्यस्तै आइतबार नै भएको सत्यनारायण माध्यमिक विद्यालयले लिएको प्रवेश परीक्षामा १ हजार ५४५ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम गुरागाईँले बताए ।


विद्यार्थीको चापको आधारमा धेरै विद्यार्थी भर्ना गर्न सकिने भए पनि भौतिक पूर्वाधारको अभावमा विद्यार्थीलाई चाहेर पनि भर्ना लिन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिब्यराज कट्टेलले जानकारी दिए। भवन अभावका कारण यो वर्ष ३ सय जनालाई मात्र भर्ना गर्न सकिने उनको भनाई छ ।