सुनसरी - सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार चतराधाममा आजबाट बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको सुरु हुदैछ ।
धार्मिक स्थल चतराधाममा आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले बिहान साढे ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका संयोजक बालसन्त मोहन शरण देवाचार्यले जानकारी दिए ।
एक महिने मेलामा ४० लाखभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । उनीहरूको व्यवस्थापन र सुरक्षाको तयारी समेत पुरा भएको मेला मूल आयोजक समितिले जनाएको छ ।
कुम्भ मेलाका आगन्तुकका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवक समेत गरी दुई हजार भन्दा बढी सुरक्षाकर्मीहरू खटाइएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।
IMG_5360
मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नान स्थल निर्माण गरिएको छ । मेला स्थल वरिपरि सरसफाइ, स्नान स्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भन्डारा लगायत पार्किङको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
धार्मिक परम्परा तथा तीर्थाटनका हिसाबले महत्त्वपूर्ण रहेको सो महाकुम्भ मेलामा धेरैजसो नेपाल र भारतका भक्तजन सहभागी हुने मेला सहसंयोजक एवंम वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।
भारत बाहेक विभिन्न देशका साधु सन्त लगायत भक्तजनहरूको पनि सहभागिता रहने नगरप्रमुख कार्कीले बताए ।
आध्यात्मिक हिसाबले अत्यन्त महत्त्वपूर्ण मानिएको वराहक्षेत्रको प्राचीन हरिद्वारा चतराधाममा हरेक १२ वर्षमा एक महिने पूणर्महाकुम्भ मेला लाग्ने गरेको छ ।
यस्तै ६-६ वर्षमा अर्धकुम्भ मेला समेत लाग्दै आएको छ ।