सुनसरी — तेस्रो संस्करणको सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इटहरी फुटबल क्लबले जितेको छ । सुनसरीको दुहबी नगरपालिका-८ मा आइतबार सम्पन्न फाइनलमा आयोजक मेमोरी युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधि जितेको हो ।

उपाधिसंगै इटहरीले नगद २ लाख ११ हजार पुरस्कार पाएको छ । उपविजेता आयोजक मेमोरी युवा क्लबले १ लाख ५५ हजार रुपैयाँमा चिक्त बुझायो । इटहरीको जीतमा बिदेशी खेलाडी सुवाङले २ तथा कुलदिप कार्की र उमेश कार्कीले एक एक गोल गरे । आयोजकका तर्फबाट असिम राईले एक गोल फर्काए । खेलको सुरुवातदेखि नै आयोजकलाई दबाबमा राखेको इटहरीको तर्फबाट १५ औं मिनेटमा कुलदिपले गोल गरेर अग्रता कायम गरेका थिए । २४ औं मिनेटमा बिदेशी खेलाडी यामीको पासमा सुवाङले गोल गर्दै इटहरीलाई २–० को अवस्थामा ल्याए । ३३ औं मिनेटमा समिर राईले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उमेश गोल गरेपछि इटहरीले पहिलो हाफमै ३–० को स्पष्ट अग्रता लियो ।

प्रतिष्पर्धात्मक दोस्रो हाफको ५ औं मिनेटमा आयोजकका असिमले गोल फर्काए पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन । खेलको अन्तिम चार मिनेटको अतिरिक्त समयमा मनिष भण्डारीको पासमा सुवाङले व्यक्तिगत दोस्रो गोल गरेपछी इटहरीले ४–१ को सहज जीत हात पारेको हो । पहिलो सेमिफाईनल खेलमा इटहरीले दमक फुटबल एकेडेमी, झापालाई ३-० गोल अन्तरले हराउँदै फाइनल खेलेको हो भने आयोजक मेमोरीले बर्दिवास नगर क्लब बर्दिवासलाई ५–० ले पराजित गर्दै इटहरीसँगको उपाधि भीडन्त पक्का गरेको थियो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदार, उपप्रमुख मेनुका खतिवडा, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले लगायतले पुरस्कार बितरण गरे । चैत्र २४ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न ८ टिमको सहभागिता रहेको थियो ।