विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सभा सचिवालयमा सङ्कल्प प्रस्ताव पेस गरेका छन्  । कोशी प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ६ गतेलाई प्रदेश सभाको अधिवेशन बोलाएसँगै विपक्षी गठबन्धनले सङ्कल्प प्रस्ताव प्रदेश सभामा पेस गरेको हो ।   नेकपा एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीको प्रस्तावमा नेकपा माओवादीका सांसद गणेश उप्रेती र किशोरचन्द्र दुलालको समर्थनमा सङ्कल्प प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको हो । कोशी प्रदेश सभाको ६ गतेको बैठकमा यही सङ्कल्प प्रस्ताव  टेबुल हुने र  पारित गर्ने तयारीमा विपक्षी दलहरू देखिएका छन् । 

कोशी प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ४७ को उपनियम (१) बमोजिमका सर्तका अधीनमा रही सोही नियमावलीको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम यो सङ्कल्प प्रस्ताव नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम बोलाइएको अधिवेशनको बैठकमा नियमावलीको नियम ७१ बमोजिम यो सूचना पेस गरिएको भनिएको छ । 

‘मुख्यमन्त्री केदार कार्की ज्यूले २०८० असोज २७ मा मुख्यमन्त्रीमा नियुक्त हुन र सरकारमा सहभागी हुन दिएको समर्थन साथै २०८० कात्तिक १ गते सरकारमा सहभागी हुन समेत मुख्यमन्त्री ज्यूलाई दिएको विश्वासको मत समेत दिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट सरकारमा सहभागी हुनुभएका मन्त्री माननीय राम बहादुर मगरले २०८० कात्तिक १८ मा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) वाट सरकारमा सहभागी मन्त्रीहरू क्रमशः माननीय गणेश प्रसाद उप्रेती माननीय राजेन्द्र कार्की माननीय नारायण बहादुर मगरले मिति २०८० चैत २६ गते मन्त्री पद वाट राजीनामा दिई सरकारबाट फिर्ता भइसक्नु भएको छ, सङ्कल्प प्रस्तावमा भनिएको छ, मन्त्रीबाट फिर्ता भएका दलका तर्फबाट मुख्यमन्त्रीलाई दिएको समर्थनका साथै दिएको विश्वासको मत समेत फिर्ता भएको ब्यहोरा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाउन्न (५२) जना प्रदेश सभाका माननीय सदस्यले लिखित निवेदन २०८० साल चैत्र २६ गते नै माननीय प्रदेश प्रमुख ज्यु र माननीय सभामुख समक्ष पेस भई सकेको हुँदा कुल ९३ जना प्रदेश सभा सदस्य मध्य बाउन्न (५२) जना अर्थात् बहुमत सदस्यको समर्थन गुमाई सकेको विद्यमान परिस्थिति छ ।’ बुँदागत रूपमा उल्लेख भएको सङ्कल्प प्रस्तावमा निम्न उल्लेख गरिएको छ। 

१. माननीय मुख्यमन्त्री ज्यूको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फ वाट सरकारमा सहभागी माननीय मन्त्रीहरूले राजीनामा दिई सरकार वाट फिर्ता भई सकेको र बहुमत प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा २०८१ साल वैशाख २५ गते भित्रमा माननीय प्रदेश प्रमुख ज्यू मार्फत प्रदेश सभाको आव्हान गराई संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन प्रदेश सभाको यो बैठक माननीय मुख्यमन्त्री ज्यू लाई निर्देशन गर्दछ ।

(ख) बहुमत सदस्यको विश्वास गुमाई अल्पमतमा परिसकेको कोशी प्रदेश सरकारका मुख्यमन्त्री ज्यूले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त नगरुन्जेल दिर्ध कालिन असर पर्ने प्रकृतिका नीतिगत तथा कार्यक्रम निर्णय एवं गैर बजेटरी शीर्षकमा खर्च गर्ने कार्य नगर्न नगराउन माननीय मुख्यमन्त्री ज्यू तथा मन्त्री परिषद , मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रमुख सचिव र प्रदेश सरकारका मन्त्रालयका सचिव ज्यूहरू समेत लाई प्रदेश सभाको यो बैठक निर्देशन जारी गर्दछ ।

(ग) माननीय मुख्यमन्त्री ज्यूले २०८१ साल वैशाख २५ गते सम्म यदि विश्वासको मत पनि लिनु भएन वा वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त पनि गर्नु भएन भने सो पछिका दिनमा प्रमुख सचिव र अन्य मन्त्रालयका सचिवज्यूहरूले मन्त्री परिषद् मुख्यमन्त्री वा मन्त्रीज्यूहरूको कुनै पनि निर्णय वा निर्देशन कार्यान्वयन गर्न गराउन बाध्य नहुने ब्यहोरा समेत यो प्रदेश सभा निर्देशन गर्दछ ।

(घ) २०८१ साल वैशाख २५ गते प्रदेश सभाबाट विश्वासको मत नलिएमा वा विश्वासको मत प्राप्त नगरेमा वा वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त नगरेमा माननीय प्रदेश प्रमुख ज्यू वाट संविधानको धारा २६८ को कुनै उपयुक्त उपधारा प्रयोग गरी नयाँ वैकल्पिक सरकार गठनका लागि संवैधानिक र कानुनी प्रक्रिया स्वाभाविकै ढङ्गले अगाडी बढ्न उपयुक्त हुने प्रदेश सभाको यो बैठक माननीय प्रदेश प्रमुख ज्यू समक्ष सन्देश प्रवाह गर्दछ ।

(ङ) कोशी प्रदेश सभाका सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश संसदीय दलका नेता माननीय हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै उहाँको नेतृत्वमा नयाँ वैकल्पिक सरकार गठन गर्न यो प्रदेश सभा सक्षम रहेको प्रतिबद्धता व्यक्त गर्दछ ।

(च) उपयुक्त सङ्कल्प प्रस्ताव कोशी प्रदेश सभा नियमावली २०७४(पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) खण्ड (ग) का साथै संविधानको धारा १८७ को उपधारा (२) बमोजिमको अधिकार प्रयोग गरी प्रदेश सभाको यो बैठकले पारित गरेको घोषणा गर्दछ ।

(छ) कोशी प्रदेश सभाको यो बैठकबाट पारित सङ्कल्प प्रस्ताव २०८०को प्रमाणित प्रति माननीय प्रदेश प्रमुख ज्यू समक्ष तत्काल पठाउन यो प्रदेश सभा, कोशी प्रदेश सभा सचिवालय लाई निर्देशन गर्दछ ।