विराटनगर । विराटनगरमा रहेको जागरूक बचत तथा ऋण सहकारी संस्थाले साना व्यवसाय कर्जा उपलब्ध गराएको छ।  नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयको सहयोगमा जागरूक बचत तथा ऋण सहकारी संस्थाले २५ जना युवालाई व्यवसाय स्वरोजगार कर्जा उपलब्ध गराएको हो । 
युवा तथा साना व्यवसायलाई स्वरोजगार कर्जा अभिमुखीकरण गरी चेक हस्तान्तरण गरिएको संस्थाका सचिव उमेश गुरुङले जानकारी दिए ।  युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कर्जा सहजकर्ता पूर्ण दाहालले अभिमुखीकरण गरेपछि कर्जा वितरण गरिएको थियो । 
व्यवसाय स्वरोजगार कर्जा अन्तरगत ५० हजार देखि २ लाखसम्म कर्जा प्रवाह भएको संस्थाका कोषाध्यक्ष दामोदर निरौलाले जानकारी दिए । उनका अनुसार २५ जनालाई ३० लाख  सहुलियत दरमा कर्जा प्रवाह भएको छ।  व्यवसाय संचालनका लागि कोषको सचिवालयले ६० प्रतिशत ब्याजमा अनुदान प्रदान गर्ने छ । साथै ८ प्रतिशत ब्याजमा ऋण प्राप्त गरेका युवाले सञ्चालन गरेको व्यवसायको बिमा समेत सरकारले गर्ने व्यवस्था छ । 
जागरूक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका  अध्यक्ष सुनाङ सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर १५ का वडा अध्यक्ष प्रकाश साहले चेक हस्तान्तरण गरेका थिए ।