सुनसरी - राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कोसी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रङ्गशालामा सोमबार बिहान भएको पहिलो खेलमा कोसीले सुदूरपश्चिम प्रदेश विरुद्ध २-१ को जित निकालेको हो ।
कोसीलाई जित दिलाउन दुवै गोल समीक्षा मगरले गरिन् । सुदूरपश्चिमका लागि यशोदा चिरालले एक गोल फर्काइन् । खेलको नवौँ मिनेटमा उदयपुर मैनामैनीकी समीक्षाको गोल मार्फत कोसीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा समीक्षालेनै टोलीको अग्रता दोब्बर बनाएर जीत निश्चित गरिन । यशोदाले ४९ औँ मिनेटमा गोल गर्दै सुदूरपश्चिमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो जीतका लागि पर्याप्त बन्न सकेन ।
11
दुई साताअघि पनि चितवनको भरतपुरमा सुदूरपश्चिम प्रदेशलाई २-० गोल अन्तरले पराजित गर्दै कोसीले स्वर्ण पदक जितेको हो । उक्त टिममा तीन खेलाडी परिवर्तन गर्दै कोसी टिम सुर्खेत पुगेको हो ।
लगातार दोस्रो जीत निकालेको कोसीले दुई खेलमा ६ अङ्क जोडेको छ । पराजित सुदूरपश्चिमको दुई खेलबाट तीन अङ्क छ । पहिलो खेलमा कोसीले कर्णालीलाई ३-० तथा सुदूरपश्चिमले गण्डकीलाई ५-१ ले पराजित गरेका थिए । 
111
विभागीय टिम बाहेक ७ प्रदेश टिमले सहभागिता जनाएको राष्ट्रिय लिग छनोटमा कोसी प्रदेशले अब वैशाख १४ मा लुम्बिनी, १६ गते मधेस र १९ गते बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्ने टिम मेनेजर केशव कार्कीले जानकारी दिए ।
सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा कूल २१ खेल हुनेछन् । वैशाख २० गतेसम्म चल्ने छनौट खेलबाट शीर्ष तीन स्थानमा रहने टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् ।
यसरी छनोटबाट आएका शीर्ष ३ प्रदेश र ३ विभागीय टोली आर्मी, पुलिस र एपीएफ गरी ६ टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।