विराटनगर । चौथो संस्करणको मिल्स गोल्ड कप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ । 
विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा युवा क्लब फाइनलमा पुगेको हो । 
जितसँगै पेमा युवा क्लबले  शनिवार हुने फाइनलमा उपाधिको लागि सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग खेल्नेछ ।
जितको लागि पेमा युवा क्लबको तर्फबाट मिलन राई, समीर राई र कुलदिप कार्कीले गोल गरे । प्रहरीको तर्फबाट सान्त्वना गोल उज्जल राईले फर्काए ।
खेलको २९ औँ मिनेटमा प्रहरीका उज्जल राईले गोल गर्दै अग्रता दिलाएका थिए । तर, प्रहरीको अग्रता १४ मिनेट पनि टिक्न सकेन । दोस्रो हाफदेखि पेमा युवा क्लबले आक्रामक खेल्दै ४३ औँ मिनेटमा डिबक्स भित्रबाट मिलन राईले हेडमार्फत आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याए ।  ६१ औँ मिनेटमा पेमाका समीर राईले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफपछि सौरव लिम्बुको ठाउँमा मैदान प्रवेश गरेका समिरले मिलन राईले निकालेको क्रस पासलाई गोलमा परिणत गरे । अग्रता दोब्बर बनाएको चार मिनेट बित्न नपाउँदै पेमाका कुलदिप कार्कीले गोल गर्दै टिमको जित सुनिश्चित गरे । 

प्रतियोगिताको प्लेयर अफ द म्याच पेमा युवा क्लबका मिलन राई घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय रुपैयाँ र उपबिजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउनेछन् ।