इटहरी । गत फागुन महिनामा सम्पन्न भएको तरहरा रनले खर्च विवरण सार्वजनिक गरेको छ । फागुन २६ गते आयोजना गरिएको १० किलामिटर दौड प्रतियोगितामा खर्च कटाएर ३० हजार ४७५ रुपैयाँ बचत भएको आयोजकले जानकारी दिएको छ । 

विहिबार आयोजक तरहरा रनले कार्यक्रमको खर्च विवरण सार्वजनिक गर्र्दै सो जानकारी गराएको हो । आयव्यय सार्वजनिक गर्दै आगामी वर्ष पनि रनलाई निरन्तरता दिइने आयोजकले जनाएको छ । 

तरहरा रनका कोषाध्यक्ष किशोर खत्रीले कार्यक्रममा कूल १५ लाख ४९ हजार दुई सय ८२ रुपैयाँ आम्दानी भएको जानकारी दिए । यसैगरी १५ लाख १८ हजार ८०७ रुपैयाँ खर्च भएको उनले जनाए । खर्च कटाएर ३० हजार ४७५ रुपैयाँ बचत भएको खत्रीले बताए । 

उनका अनुसार सहभागीबाट कूल ४ लाख ६० हजार ९५० रुपैयाँ आम्दानी भएको थियो । यसैगरी बाँकी इटहरी उपमहानगरपालिकासहित स्थानीय संघसंस्था र विदेशमा रहेका तरहराबासीहरूले सहयोग गरेका थिए । 

प्रतियोगितामा पुरस्कार वितरण, टि–सर्ट छपाइ, गेट निर्माण, मार्किङ बोर्डलगायतमा खर्च भएको जनाइएको छ । 

प्रतियोगितामा कूल एक हजार सात सय ७४ जना धावक तथा धाविका सहभागी रहेका थिए । 

जसमा १२ वर्षभन्दा कम उमेरका ५१९ जना बालबालिकाहरू सहभागी थिए । उनीहरूलाई ३ किलोमिटर दूरीको दौडमा सहभागी गराइएको थियो । 

यस्तै, १५ वर्षभन्दा कम उमेरका १९९ जना सहभागी बालबालिकाहरूलाई १० किलोमिटर दूरीको दौडमा सहभागी गराइएको थियो । 

यसैगरी, १६ देखि ३९ वर्षसम्म ५१० जना, ४० देखि माथिका (भेट्रान)तर्फ १६५ जना, पारिवारिकतर्फ ३४५ जना र ह्वील चियरतर्फ ३६ जना सहभागी थिए । जसमा ह्वील चियरमा सहभागी धावक, धाविकालाई भने दर्ता शुल्क नलिइएको तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले बताए । 

सबै विधाका विजेताहरूलाई नगद, मेडल र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो । 

‘आगामी वर्षपनि रनलाई निरन्तरता दिइनेछ,’ अध्यक्ष राईले भने, ‘हाम्रो उदेश्य तरहरालाई चिनाउनु र स्वास्थ्य रहनुपर्छ भन्ने हो ।’ 

आयव्यय सार्वजनिक कार्यक्रममा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले उक्त रनले तरहरालाई चिनाउनु र यो ठाउँको स्तरोन्नतिका गरिएको भन्दै प्रशंसा गरे ।