इटहरी । कोशी प्रदेशले एन्फा महिला लिग छनोटमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा बिहीबार सम्पन्न खेलमा कोशीले लुम्बिनीलाई ३-० गोल अन्तरले पराजित गरेको हो। जारी लिगमा अपराजित रहने टोली कोशी मात्रै हो। शीर्ष स्थानमा रहेको कोशीले ४ खेलमा १२ अंक जोडेको छ।

पाँचौँ स्थानमा रहेको लुम्बिनीको ३ खेलबाट ३ अंक मात्रै रहेको छ। खेलको २३औँ मिनेटमा सञ्जुमाया तामाङले गोल गर्दै कोशीलाई शुरूआती अग्रता  दिलाएकी थिइन्।

३९औँ मिनेटमा मनिताले गोल गर्दा कोशीले खेलमा २-० को अग्रता कायम गरेको थियो। ५७औँ मिनेटमा मनिताले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्।

विभागीय टिम बाहेक ७ प्रदेश टिमले सहभागिता जनाएको राष्ट्रिय लिग छनोटमा कोसी प्रदेशले अब वैशाख १६ गते मधेस र १९ गते बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्ने टिम मेनेजर केशव कार्कीले जानकारी दिए ।

सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा कूल २१ खेल हुनेछन् । वैशाख २० गतेसम्म चल्ने छनौट खेलबाट शीर्ष तीन स्थानमा रहने टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् ।

यसरी छनोटबाट आएका शीर्ष ३ प्रदेश र ३ विभागीय टोली आर्मी, पुलिस र एपीएफ गरी ६ टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।