विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथो मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 
विराटनगर जुट मिलको खेलमैदानमा शनिवार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ । 
जितको लागि एपीएफको तर्फबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले समान १–१ गोल गरे । पेमा युवा क्लबको तर्फबाट सान्त्वना गोल मिलन राईले फर्काए । 
यसअघि २०७७ सालमा एपीएफले प्रथम संस्करणको मिल्स गोल्ड कपको उपाधि जितेको थियो । त्यस बेला साइनो स्पोर्ट्स क्लब रानी मोरङलाई टाईब्रेकरमा ४–३ गोलले हराउँदै एपीएफले उपाधि जितेको थियो ।
पेमा युवा क्लबले बारम्बार पाएको गोल गर्ने अवसर खेर पाल्दा उपबिजेता बन्यो । उपबिजेता बनेको पेमाले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो । 
प्रतियोगिताको प्लेयर अफ द म्याच एपीएफका दिसन राई घोषित भए । हाई स्कोर एपीएफकै हरि कार्की भए । उनले खेलभरिमा तीन गोल गरे । बेस्ट गोलकिपर एपीएफका सुजन बिक र टुनामेन्ट अफ द इयर पेमा युवा क्लबका कोमल खवास घोषित भए । 
वैशाख ७ देखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठ टिमको सहभागिता रहेको थियो । 

प्रतियोगिताको विजेता हुने टिमलाई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेपाल खेलकुद महासङ्घको केन्द्रीय अध्यक्ष परशुराम बस्नेत, मिल्स गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोल, संयोजक मनोज खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।