विराटनगर ।   उद्योग सङ्गठन मोरङले श्रमिक दिवसको अवसरमा श्रमिकको सम्मान गरेको छ। मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान भन्ने नाराका साथ  १३५ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान को पुर्‍याउने श्रमिकको सम्मान गरेको हो । 
सङ्गठनले सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योग प्रतिष्ठानमा लामो समय देखि कार्यरत ३ जना श्रमिकको सम्मान गरेको हो । 
सम्मानित हुनेमा  रघु पति जुट मिल्समा ३३ वर्षदेखि कार्यरत बलराम मण्डल, रिलायन्स स्पिनिङमा २७ वर्ष देखि कार्यरत राम पवित्र साह र स्वस्तिक आयल ईण्ड. प्रा. लि. मा ३६ वर्षदेखि कार्यरत ललन कुमार राय रहेका छन् । सम्मानितहरूलाई सङ्गठनका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्द किशोर राठी, उपाध्यक्ष विपिन कावरा, सङ्गठनका पूर्व अध्यक्ष मुकेश उपाध्याय र ट्रेड युनियन प्रदेश कमिटीले संयुक्त रूपमा सम्मान गरे । उनीहरूलाई सम्मान–पत्र र जनही नगद एघार हजार पुरस्कार प्रदान गरिएको सङ्गठनले जनाएको छ।
सङ्गठनका अध्यक्ष राकेश सुरानाले उद्योगको उत्पादकत्व अभिवृद्धि र उद्योगमैत्री वातावरण निर्माण गर्न श्रमिक र रोजगारदाता दुवैको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले उद्योगी र श्रमिक बिचको निरन्तर संवाद र सहकार्यले आपसी सम्बन्ध थप प्रगाढ भई असल श्रम सम्बन्ध विकासमा सहयोग पुग्ने उनले बताए ।  आर्थिक क्षेत्रका चुनौतीहरूको सामना गर्न सक्षम हुने गरी काम गर्न मे दिवसले सबैलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे । 
सङ्गठनका उपाध्यक्ष एवम् रोजगारदाता विपिन कावराले श्रमिक र रोजगारदाता एक अर्कासँगको सहकार्यले मात्र असल श्रम सम्बन्ध विकासमा सहयोग पुग्ने बताए । 
कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घका कोशी प्रदेशका अध्यक्ष किशोर धमला र ट्रेड युनियन काँग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले मे दिवसको अवसरमा श्रमिक सम्मान कार्यक्रम आयोजना गरेको प्रति खुसी व्यक्त गरे । उनीहरूले  यस्ता कार्यक्रमले रोजगारदाता र श्रमिकको सम्बन्धमा थप निकटता ल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सङ्गठनका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू, उद्योगी÷व्यवसायीहरू, नेपाल ट्रेड युनियन काँग्रेस, जिफन्ट, अखिल नेपाल ट्रेड युनियन महासङ्घ लगायतका ट्रेड युनियनका प्रदेश तथा जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू तथा विभिन्न उद्योग प्रतिष्ठानका श्रमिकहरूको सहभागिता रहेको थियो ।