इटहरी । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत सुनसरीको इटहरीमा वाकाथन (पैदल यात्रा) सँगै स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको सुरुवात कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार मन्त्री खत्रीले गरेका थिए ।

आज बिहीबार बिहान सुनसरीको इटहरीस्थित रंगशालाबाट सुरु भएको वाकाथन इटहरी चोक हुँदै दुर्गा पार्टी प्यालेसमा पुगेर टुंगिएको थियो ।

वाकाथनमा सहभागी ओलम्यिन्स, कोशी प्रदेशका सेलिब्रेटी खेलाड र अन्य खेलाडीहरुलाई इटहरी उपमहानगरपालिकाले त्यहाँ स्वागत सम्मान गरेको हो ।

वाकाथनमा ओलम्यिन्स, अन्तर्राष्ट्रिय ओलम्पिक खेलाडी र कोशी प्रदेशका सेलिब्रेटी खेलाडहरुसँगै मन्त्री खत्री, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नगर उपप्रमुख संगीता चौधरी तथा स्थानीय प्रशासनका प्रमुख र खेलाडीहरुको सहभागिता रहेको थियो ।

wakathan 2 1

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले खेलकुदबाटै पर्यटनमा टेवा पु¥याउने उद्देश्यले आयोजना भएको कार्यक्रममा खेलाडीहरु सहभागी भएकोमा स्वागत गर्दै धन्यवाद दिए ।

बोर्डले खेलकुद पर्यटनलाई उजागर गर्नेगरी पहिलोपटक एकैठाउँ धेरै खेलाडीलाई प्रदेशमा ल्याएको उनको भनाइ छ । उनीहरूलाई भित्र्याउँदा यहाँका खेलप्रेमीलाई समेत पुराना तथा नयाँ खेलाडीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर प्राप्त हुने वाग्लेले बताए ।

कार्यक्रममा मन्त्री खत्रीले खेलकुदका मध्यमबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिने भएकाले प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, नगर उपप्रमुख चौधरीले स्थानीय सरकारले पनि खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन ग्रासरुटबाटै काम गरिरहेको उल्लेख गर्दै त्यसका लागि बजेटमा प्राथमिकता दिने बताइन् । 

कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तु र कन्याममा पुगेर सम्पन्न हुनेछ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा कार्यक्रम भएको हो ।

wakathan

पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीको सहभागिता रहेको छ । 

ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसिया, सिंगापुर, बेलायतका खेलाडीहरु कोशी प्रदेशमा छन् । 


चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवर्धनमा जोड मिल्नेगरी अघि बढाइनेछ । खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने बताइएको छ ।

नेपालका सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्मका ओलम्पियन, ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायत खेलाडी सहभागी छन् । कार्यक्रममा करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।