सुनसरी - सुनसरीमा दुई वर्षपछि जिल्ला स्तरीय लिग फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ सुनसरीले वैशाख २६ देखि जेठ ९ गतेसम्म जिल्लाको ‘ए’ डिभिजन लिग हुने जानकारी गराएको छ ।
DSC_1433
अखिल नेपाल फुटबल संघको संयोजनमा हुने लिग इटहरी र धरान क्षेत्र गरी दुई स्थानमा हुने जिल्ला फुटबल संघ सुनसरीका महासचिव कोबिदजंग कार्कीले जानकारी दिए । इटहरी रङ्गशाला तथा धरान रङ्गशालामा हुने प्रतियोगितामा सुनसरी जिल्ला फुटबल संघमा आबद्ध १० टिम सहभागी हुनेछन् । सहभागी १० टिमलाई २ समूहमा विभाजन गरी लिग सञ्चालन गरिने कार्कीले बताए । 
DSC_1431
       इटहरी क्षेत्र अन्तर्गत इटहरी रङ्गशालामा हुने खेलमा राष्ट्रिय जागृति क्लब, एलेभेन एरोज क्लब, इटहरी फुटबल क्लब, ब्वाईज क्लब र गोल्डेनस्टार यूथ क्लबले प्रतिस्पर्धा गर्ने छन् । धरान क्षेत्र अन्तर्गत धरान फुटबल क्लब, गोधुली क्लब, टेम्के क्लब, न्यु स्टार क्लब र संयुक्त युवा क्लब खेल्नेछन् । दुई समूहका उत्कृष्ट चार टिमलाई दोस्रो चरणको नकआउट प्रतियोगितामा सहभागी गराइनेछ । यी खेलहरू भने धरान रङ्गशालामा हुने जिल्ला फुटबल संघ सुनसरीका अध्यक्ष नवीन राईले जानकारी दिए ।
DSC_1430
लिग विजेताले नगद ५० हजार रुपैयाँ र उपबिजेताले ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट हुनेलाई नगद ३ हजार र सर्वाधिक गोलकर्तालाई नगद ५ हजार प्रदान गरिने जनाइएको छ । लिग च्याम्पियन टोली बढुवा हुँदै प्रदेश लिग खेल्न पाउने छ भने पुछारको टिम घटुवा हुनेछ ।
तस्बीर - गुरु ढकाल, सञ्चारपाटी