विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत लिएपछि पत्रकारसँग कुरा गर्दै  यसै हप्ता भित्र मन्त्री परिषद् विस्तार हुने बताए । ‘ढिलोमा यो हप्ताभित्र सरकार विस्तार गरिसक्ने तयारी थालिएको छ, उनले भने, सरकारमा तत्काल एमाले र माओवादी केन्द्र मात्र सामेल हुने अवस्था छ ।’

जनता समाजवादी पार्टी दल विभाजन भएको र निर्वाचन आयोगले प्रदेशसभा सदस्यलाई दल रोज्न समय दिएकाले तत्काल उसलाई सरकारमा सहभागी गराउने बारेमा तत्काल निर्णय हुने अवस्था नभएको उनले बताए । कोशीमा जनता समाजवादी पार्टी नेपालको एक जना मात्र सांसद छन् ।  त्यस्तै सोमबार मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एकीकृत समाजवादीले तत्कालका लागि विपक्षमा नै बस्ने जनाउँदै आएको छ।