सुनसरी । सुनसरीको गढी गाउँपालिका-२ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शुक्रबार एक कार्यक्रमकाबीच उक्त बस्तीमा निर्माण भएका घर परिवारलाई हस्तान्तरण गरेकी हुन् ।

त्यहाँस्थित भूमिहीन दलित/आदिवासी जनजाति तथा अति विपन्न परिवारहरूका लागि सुरक्षित भूमि र सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुरक्षित आवास परियोजना अन्तर्गत गढी गाउँपालिकाका औराबनी, ह्याविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल र सङ्कल्प नेपालले संयुक्त रूपमा घर बनाइदिएका हुन् ।

गढी गाउँपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो । २०७९ पुस २० गते सम्झौता भएको उक्त परियोजना २०८० फागुन २५ गते सम्पन्न भएको हो । विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्य अन्तर्गत निर्माण गरिएका भवनमा २ वटा कोठा, बरन्डा, भान्सा घर, शौचालय रहेका छन् ।

gharr

गढी गाउँपालिकाको ४९ लाख ५० हजार रुपैयाँ, ह्याविट्याट फर ह्युम्यानिटी नेपालको ४० लाख दुई रुपैयाँ, सङ्कल्प नेपालको १८ लाख रुपैयाँ लागत तथा घरधनीको श्रमदान ६ लाख रुपैयाँ बराबर सहित १ करोड ७ लाख ५० हजार २ रुपैयाँ कुल लागतमा घरहरु निर्माण भएका हुन् ।

नवनिर्मित भवन विपन्न परिवारलाई हस्तान्तरण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले स्वयं समुदाय सक्रिय नहुँदासम्म कुनैपनि परियोजना सफल हुन नसक्ने बताइन् ।

कुनैपनि योजना सफल हुन स्थानीय तहका नेतृत्वको भूमिका अझ बढी हुने भन्दै मन्त्री चौधरीले सबैको समन्वयमा सुरक्षित आवास निर्माण परियोजना सम्पन्न भएकोमा २० परिवारलाई भवन हस्तान्तरण गर्न सफल भएको बताइन् ।