विराटनगर ।  अटो सिटी बजाज सोरुम इटहरी सुनसरीका सञ्चालक प्रदीप कुमार सन्थालियाले ४ थान विद्युतीय टेम्पो नेपाल प्रहरीलाई प्रदान गरेका छन् ।  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीमा आइतबार  एक कार्यक्रमका बिच विद्युतीय टेम्पो हस्तान्तरण भएको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई सन्थालियाले ४ थान विद्युतीय टेम्पो हस्तान्तरण गरे । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई शान्ति सुरक्षाको निम्ति परिचालन गर्न विद्युतीय टेम्पो हस्तान्तरण गरिएको सन्थालियाले बताए । 
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले कोशी प्रदेश प्रहरी कार्यालयलाई प्राप्त भएको उक्त विद्युतीय टेम्पो ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई १ थान, समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि परिचालन गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियालाई १/१ थान हस्तान्तरण गरे । 
उक्त विद्युतीय टेम्पो प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनका साथै समाजमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नियमित रुपमा प्रयोग गर्ने खापुङले बताए । 
कार्यक्रममा समाजसेवी सन्थालियाले समाजमा शान्ति सुरक्षा प्रदान गर्न अहोरात्र खटिदा सुरक्षाकर्मीलाई सहजता मिलोस् भनेर उक्त विद्युतीय टेम्पो आफूले प्रदान गरिएको बताए । 
उक्त कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी अधिकृत लगायत ट्राफिक प्रहरी कर्मचारीहरूको साथै सञ्चारकर्मीहरूको समेतको उपस्थिति रहेको थियो ।