सोलुखुम्बु । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित तेन्जिङ हिलारी माउन्ट एभरेष्ट म्याराथनमा पुरुषतर्फ अर्जुनकुमार कुलुङ र महिला तर्फ लाक्पा निमा शेर्पा विजयी भएका छन् ।

४२ किलोमिटरको म्याराथनमा पुरुष तर्फ सोलुखुम्बुको महाकुलुङका अर्जुनकुमार कुलुङ विजेता भएका छन् । सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किलोमिटरको दुरी ३ घण्टा ५२ मिनेट ९ सेकेण्डमा पार्दै कुलुङ विजेता बनेका हुन् । त्यस्तै, म्याराथनमा महाकुलुङकै सुमन कुलुङले निर्धारित दुरी ३ घण्टा ५३ मिनेट २७ सेकेण्डमा पारे गरेर दोश्रो भएका छन् ।

सोलुखुम्बुका राम कुमार राजभण्डारीले ४ घण्टा ७ मिनेट ४० सेकेण्डमा दुरी पार गर्दै तेश्रो भएका छन् । २ सय १६ जना नेपाली र विदेशी धावक सहभागी म्याराथनको आयोजना हिमालयन एक्सपिडिसनले गरेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

त्यस्तै ४२ किलोमिटरको महिला तर्फ नेपाल प्रहरीकी लाक्पा निमा शेर्पाले निर्धारित दुरी ४ घण्टा ४२ मिनेटमा दुरी पार गर्दै प्रथम भएकी छिन् । त्यस्तै प्रिया राईले ५ घण्टा १ मिनेट २२ सेकेण्डमा दुरी पार गर्दै दोश्रो स्थान ओगटेकी छिन् ।