सुनसरी । नेपाल पत्रकार महासङ्घ सुनसरीमा प्रेस युनियनले तालाबन्दी गरेको छ ।

प्रेस युनियनका सुनसरी जिल्ला सचिव बाबुराम कार्कीको नेतृत्वमा गएको युनियनको टोलीले धरान १३ अमरहाट स्थित कार्यालयमा तालाबन्दी गरेको हो । 

महासङ्घको चुनाव गर्न जारी सदस्यता नामावलीमा रातारात गैर पत्रकारको नाम थपिएको, कार्यरत पत्रकारको नाम हटाइएको आरोप युनियनले लगाएको छ । 

सचिव कार्कीका अनुसार शुद्धीकरणका लागि परेका उजुरी अध्ययन भई जेठ २८ गते टुङ्गो लगाइएको अन्तिम नामावलीमा रातारात हेरफेर गर्दै जिल्ला र प्रदेशबाट सिफारिस नै नभएका नाम थप्ने काम भएको छ । उनले भने, ‘त्यसको विरोधमा तालाबन्दी गरिएको हो ।’

पत्रकार महासङ्घको विधान अनुसार सुनसरी जिल्ला शाखाले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै प्रक्रिया विधान मिचेर जारी गरिएको सूची प्रेस युनियन सुनसरी शाखाले नमान्ने उनले बताए ।

उक्त सदस्यताको सूचि सुनसरी जिल्ला शाखाले सिफारिस गरी पठाए अनुसार सुधार नभए सम्म सङ्गठनको विरोध जारी रहने युनियन जिल्ला कोषाध्यक्ष मात्रिका प्रसाद नेपालको भनाई छ ।