सुनसरी- भारतीय पर्यटक आकर्षित गर्न कोसी प्रदेशमा इस्टर्न टाभल मार्ट हुने भएको छ । कोसी प्रदेशको समग्र पर्यटन उत्पादनहरूलाई सीमावर्ती भारतीय सहर र बङ्गलादेशमा समेत प्रचारप्रसार र प्रवर्द्धन गर्ने उदेश्वले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले मङ्गलवार इटहरीमा पत्रकार सम्मेलन गरी जनाएको छ । नेपाल पर्यटन बोर्ड र कार्यक्रम आयोजना हुने स्थानीय सरकारको संयुक्त आयोजना र निजी क्षेत्रका सम्बद्ध सरोकार मार्फत सञ्चालन हुँदै आएको कार्यक्रमको चौथो संस्करणको उद्घाटन इटहरीमा र समापन झापाको पूर्वी नाका काकडभिटामा हुने आयोजकले जनाएको छ । 
       जेठ २५ देखी २७ गतेसम्म चल्ने टाभल मार्टमा नेपालका ५० जना तथा भारतको बिहार, पश्चिम बङ्गाल, भुटान र बङ्गलादेश समेतका गरी ८० भन्दा बढी टाभल व्यवसायी र पर्यटनसँग सम्बद्ध सङ्घ सङ्गठनका प्रतिनिधि गरी १ सय ३० बढी पर्यटनकर्मीको सहभागिता रहने आयोजक इस्टर्न टाभल मार्ट २०२४ का कार्यक्रम संयोजक भविस कुमार श्रेष्ठले जानकारी दिए । 
        कार्यक्रममा कोसी प्रदेशमा हालसम्म सञ्चालित तारे होटलहरु, प्रदेशका मुख्य गन्तव्यहरू, धार्मिक स्थलहरू, हस्पिटालीटी म्यानेजमेन्ट कलेजहरू गरी ३० भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ । कार्यक्रमको दौरानमा विदेशी पर्यटकलाई प्रदेशका विभिन्न पर्यटकीय स्थलको अवलोकन भ्रमण पनि गराइने बताइएको छ । यस्तै स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीहरू बिच सूचना व्यापार र समझदारी बनाउँदै देशीय तथा अन्तर देशीय व्यवसायी प्याकेजहरूमा सहमति सम्झौता समेत गराइने आयोजकले जनाएको छ ।