सुनसरी- भारत र बङ्गलादेशका पर्यटक आकर्षित गर्न कोसी प्रदेशमा इस्टर्न टाभल मार्ट सुरु भएको छ । कोसी प्रदेशको समग्र पर्यटन उत्पादनहरूलाई सीमावर्ती भारतीय सहर र बङ्गलादेशमा समेत प्रचारप्रसार र प्रवर्द्धन गर्ने उदेश्वले कार्यक्रम आयोजना गरिएको  आयोजकले जनाएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा इटहरीमा सुरु भएको कार्यक्रमको कोसी  प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् । पर्यटन बोर्ड र स्थानीय सरकारसँग समन्वय गरी निजी क्षेत्रका सम्बद्ध सरोकार मार्फत सञ्चालन हुँदै आएको कार्यक्रमको यो चौथो संस्करण हो । आइतबारसम्म चल्ने कार्यक्रमको समापन झापाको पूर्वी नाका काकडभिटामा हुने आयोजकले जनाएको छ । 
       टाभल मार्टमा नेपालका ५० जना तथा भारतको बिहार, पश्चिम बंगाल, भुटान र बङ्गलादेश समेतका गरी ८० भन्दा बढी टाभल व्यवसायी र पर्यटनसँग सम्बद्ध संघ सङ्गठनका प्रतिनिधि गरी १ सय ३० बढी पर्यटनकर्मीको सहभागिता रहेको इस्टर्न टाभल मार्ट २०२४ का कार्यक्रम संयोजक भविस कुमार श्रेष्ठले जानकारी दिए । 
        कार्यक्रममा कोसी प्रदेशमा हालसम्म सञ्चालित तारे होटलहरु, प्रदेशका मुख्य गन्तव्यहरू, धार्मिक स्थलहरू, हस्पिटालीटी म्यानेजमेन्ट कलेजहरू गरी ३० भन्दा बढी स्टलहरू रहेको छ । कार्यक्रमको दौरानमा विदेशी पर्यटकलाई प्रदेशका विभिन्न पर्यटकीय स्थलको अवलोकन भ्रमण पनि गराइने छ । यस्तै स्वदेशी तथा विदेशी पर्यटन व्यवसायीहरू बिच सूचना व्यापार र समझदारी बनाउँदै देशीय तथा अन्तर देशीय व्यवसायी प्याकेजहरूमा सहमति सम्झौता समेत हुने आयोजकले जनाएको छ ।