सुनसरी - मोरङको सुन्दरहरैँचा ६ मा जंगली हात्ती मृत फेला परेको छ ।

सुन्दरहरैँचा नगरपालिका ६ स्थित भक्तराज लिम्बूको केरा बगानभित्र जंगली हात्तीको छावा मृत फेला परेको हो । अन्दाजी ६-७ वर्षको भाले छावा बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएपछि स्थानीयले वन कार्यालय तथा प्रहरीलाई खबर गरेका थिए । सब डिभिजन वन कार्यालय सलकपुर र प्रहरी चौकी गछियाको टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको लाटी झोडा सब डिभिजन वन कार्यालयका प्रमुख अमृतविलाश पन्तले जानकारी दिए ।

hatti death

माउ बेगर हात्तीको बच्चा कसरी व्यक्तिको केरा बगानभित्र पुग्यो र मृत भेटियो भन्ने खुल्न नसकेको पन्तले बताए । हात्तीको सुँडको छेउमा सामान्य चोट देखिएको र शरीरका अन्य भागमा कुनै पनि चोटपटक नदेखिएको पन्तले जानकारी दिए । सुनसरीस्थित कोसी टप्पु वन्यजन्तु आरक्षको टोली पनि घटनास्थलमा रहेको र हात्तीको मृत्युको कारण अनुसन्धानपछि मात्रै पत्ता लाग्ने उनको भनाइ छ ।

hatti death2

गत पुस दोस्रो साता पनि मोरङको सुन्दरहरैचा-१० स्थित जनजागरण सामुदायिक वनमा जंगली हात्ती मृत भेटिएको थियो । १० -१२ वर्ष उमेरको भाले हात्तीको देब्रे खुट्टा माथि र घाँटीमा गोली लागेको अवस्थामा भेटिएको थियो ।