विराटनगर । विशेष अदालतले सप्तकोसी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीलाई ३ वर्ष ३ महिना जेल सजायको फैसला गरेको छ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहितको इजलासले सुवेदीलाई ३ वर्ष ३ महिना १८ दिन सजाय निर्धारण गरेको हो ।

यसअघि गत जेठ २० गते सुवेदीलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो । विशेषले सुवेदीलाई दोषी ठहर गरेको १२ दिनपछि सजाय र जरिवाना निर्धारण गरेको हो ।

सुवेदीले रेमिट्यान्स नै नआएको व्यक्तिहरूको नाममा फर्जी कारोबार गरेर आफन्तको नाममा सेयर कारोबार तथा घरजग्गाको कारोबार गरेको निष्कर्षसहित विशेषले दोषी ठहर गरेको थियो ।

सुवेदीलाई २०७२ चैतदेखि २०७८ मंसिरसम्म रेमिट्यान्स कारोबार हुने पुमरी बैंकिङ सफ्टवेयरको ‘पार्किङ एकाउन्ट’ मा रेमिट्यान्स नै नआएको अवस्थामा फर्जी कारोबार गरी बैंकलाई १५ करोड ७४ लाख ४० हजार ५७४ ठगी गरेको आरोप लागेको थियो ।