इटहरी । विद्यार्थीलाई रगतको महत्व बुझाउन राष्ट्रिय मा.विले विद्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 

स्वस्थ व्यक्तिको रगतले बिरामी व्यक्तिलाई नयाँ जीवन प्राप्त गर्ने र सेवाभाव पनि हुने सन्देश विद्यार्थीलाई प्रवाह गर्नकै निम्ति रक्तदान गरिएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले जानकारी दिए ।

कार्यक्रम नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको हो । प्रधानाध्यापक बस्नेतका अनुसार अभिभावक, शिक्षक, विद्यार्थी, स्काउटका सदस्यसँगै स्थानीय गाउँले गरि ५० जनाले रक्तदान गरेका छन्  ।

 मानव शरीरमा पुरानो रगत क्षय हुने प्रक्रिया नियमित रुपमा हुने र खेर जाने रगत नियमित रुपमा रक्तदान गर्नुपर्ने ज्ञान विद्यार्थीलाई प्राप्त भएको डिप्लोमा इन सिभिल इन्जिनियरिङ्की छात्रा डम्बरकुमारी कट्वाले बताइन् । 

रक्तश्रापका बिरामी, प्रसूती, मुटु मस्तिष्कलगायतका शल्यक्रिया तथा दुर्घटनामा परेका बिरामीलाई बचाउनका निम्ति अनिवार्य रगत चाहिन्छ । वर्षातको समयमा विभिन्न विपती सिर्जना हुने र थुप्रै व्यक्ति बिरामी पर्ने गरेकाले पनि विद्यालयले मानवीय सेवा भावले रक्तदान कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक बस्नेतले बताए । 

रक्तदान कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालयको स्काउट ट्रुप, जुनियर रेडक्रस सर्कल, इटहरी युथ ओपन क्रयूको संयुक्त आयोजनामा भएको थियो । सो क्रममा इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष कैलाश कार्कीको प्रमुख आथित्यतामा र विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रम उद्घाटनका क्रममा सामाजिक संस्थाका अगुवा, समाजसेवी, राजनीतिक दलका नेतालगायतको उल्लेखीय सहभागिता रहेको थियो । 

रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटी तरहराको अगुवाईमा जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग रहेको थियो ।