सुनसरी।  स्पेनले इटालीलाई १–० ले पराजित गर्दै बिहीबार युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । खेलको एक मात्र गोल आत्मघाती रह्यो र यो रिकार्डो कालाफिरीको नाममा रह्यो । समूह 'बी' मा प्राप्त यस जितपछि स्पेनको दुई खेलबाट छ अंक भएको छ । इटाली भने तीन अंकमा सीमित रह्यो ।

समूह सी को खेलमा भने इंग्ल्यान्ड र डेनमार्कले १–१ को बराबरी खेलेका छन् । यो नतिजापछि इंग्ल्यान्डको दुई खेलबाट चार अंक भएको छ र समूहको शीर्षमै रहेको छ । उसको पछाडि डेनमार्क र स्लोभानियाको दुई दुई अंक छ । यस्तै सर्बिया भने एक अंकमै पुछारमा रहेको छ ।

इंग्ल्यान्डले कप्तान ह्यारी केनको गोलको मदतले १८ औं मिनेटमा अग्रता लिएको थियो । तर मोर्टेन ह्युलमन्डले २५ यार्डबाट शक्तिशाली प्रहार गर्दै आकर्षक गोल गरे र डेनमार्कलाई खेलमा फर्काए । इंग्ल्यान्डलाई उपाधिको बलियो प्रत्यासी मानिएता पनि उसको प्रदर्शन भने त्यस अनुरुप रहेन् ।