विराटनगर । कोशी प्रदेश सरकार मातहतका लेखा शाखामा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । 
असारको समयमा हर हिसाब फरफारक गर्नु पर्ने बेलामा उनीहरू काम काज छाडेर आन्दोलनमा उत्रिएका छन् । लेखामा काम गर्ने कर्मचारी धर्नामा बसेपछि काम काज प्रभावित भएको छ । 
लेखा शाखा कार्यरत कर्मचारी हिजोबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा धर्नामा बसेका हुन् । लेखा शाखामा कार्यरत आठौँ तह सम्मका कर्मचारीहरू समान वृत्ति विकासको माग गर्दै तीन महिना अघिदेखि आन्दोलन गर्दै आएका छन् । 
प्रदेश सरकारले बनाएको प्रदेश निजामती सेवा  ऐनमा नवौँ तह हटाइ  सेवाको प्रशासन सेवा मात्र कायम गर्ने उल्लेख भएपछि लेखाका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । 
उनीहरूले आफूहरू माथि विभेद भएकाले आन्दोलनमा उत्रनु परेको बताएका छन् । लेखा अधिकृत भोला नेपालले प्रदेश निजामती सेवा ऐनमा भएको व्यवस्था सच्याउनु पर्ने र समान वृत्ति विकासको अवसर पाउनु पर्ने बताए । 
उनले भने,‘बढुवाको समान अवसर प्रदान गर्ने गरी ऐन नियम संशोधन गर्नु पर्छ । अहिले खोलेको विज्ञापन स्थगित गरी सोही विज्ञापनमा आफूहरूलाई पनि समावेश गराई बढुवा प्रक्रिया सुरु गर्नु पर्छ । 
लेखा समूहका कर्मचारीहरूले हिजो र आज  कामकाज स्थगित गरेका छन् । उनीहरूले असार  ९ गतेदेखि माग सम्बोधन नभएसम्मका लागि सामूहिक रूपमा बिदामा बस्ने चेतावनी दिएका छन् । आन्दोलनरत लेखा अधिकृत सुरज कोइरालाले माग पुरा नगरेका कारण आन्दोलनमा उत्रिएको बताए ।