विराटनगर । कोशी प्रदेशमा पहिलो पटक पूर्व सिकाई मान्यता विधिबाट सीप सिकेका व्यक्तिहरूलाई सीप परीक्षणको प्रमाणपत्र प्रदान गरिएको छ। सामाजिक विकास मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी पूर्व मान्यता सिकाई प्रणाली (आरपिएल) विधिबाट सीप सिकेका व्यक्तिहरूलाई पहिलो र दोस्रो तहको सीप परीक्षणको प्रमाणपत्र उपलब्ध गराएको हो । पहिलो चरणमा सीप परीक्षण गराएकाहरू मध्ये २१ जनालाई सीप परीक्षणको प्रमाणपत्र प्रदान गरिएको हो । २०७९ वैशाखमा राष्ट्रिय सीप परीक्षण समितिले परम्परागत सीपको आधारमा सीप परीक्षण गराउन आव्हान गरेको थियो । सो अवधिमा ४०७ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये २०८० भदौमा भएको सीप परीक्षण सम्बन्धी काउन्सीलिङमा २५२ जना सहभागी भएका थिए । काउन्सिलिङमा सहभागी भएका मध्ये पनि १५३ जनाले मात्र सीप परीक्षणको परीक्षा दिएको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत गोपाल दाहालले जानकारी दिए ।
उनका अनुसार तह २को वेल्डरमा ३ जना र तह १ को गार्मेन्ट फेब्रिकेटरका १८ जनालाई प्रमाण पत्र प्रदान गरिएको हो । स्विस सरकार र नेपाल सरकारको संयुक्त लगानीमा सीप परीक्षण कार्यक्रम सञ्चालनमा छ । यो कार्यक्रमले पूर्व मान्यता विधिबाट लिइएका सीपको परीक्षण गरी दक्ष बनाउने प्रयास भएको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख कृष्ण पोखरेलले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले यो सीपले नेपालमै मात्र हैन वैदेशिक रोजगारीमा जानेहरुको लागि समेत बाटो खोलिदिएको बताए । ‘नेपालमै काम गरिरहनु भएका तपाईँहरूले यो सीप परीक्षण पछि राम्रो तलब माग गर्न सक्नु हुने छ, उनले भने, यदि विदेश जाने सोच बनाउनु भएकाहरूले समेत यो सीप परीक्षणको प्रमाणले विदेशमा त्यही काममा राम्रो तलब प्राप्त गर्न सकिन्छ ।’ सीप परीक्षण पछिको पहिलो तहको प्रमाण पत्र भोलीका दिनमा पिएचडी गर्ने पहिलो सुरुवात भएको समेत सचिव भट्टराईको भनाई छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव दामोदर फुयल, एनएसटिबीका कार्यक्रम संयोजक गीता लिम्बु लगायतले कोशी प्रदेशमा पहिलो पटक सीप परीक्षण गरिएका व्यक्तिहरूलाई सीप
परीक्षणको प्रमाण पत्र दिन सफल भएको बताए । २१ जनालाई पहिलो पटक सीप परीक्षणको प्रमाण पत्र उपलब्ध गराइएको हो ।