विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । 
कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (परशुराम)ले खेल खेलेर बाँच्ने र गौरव गर्ने सक्ने अवस्था अझै बन्न नसकेको बताए । 
कबड्डी नेपालको धेरै खेलिने खेल र गौरवको खेल भएको बस्नेतले बताए ।  ‘खेलाडीहरूलाई सर्वोपरि ठानेर बोर्डले काम गरिरहेको छ, उनले भने, हामीले खेलकुदको विकासको लागि केही महत्त्वपूर्ण योजनाका साथ अघि बढेका छौँ ।’
सोमबार भएको उद्घाटन खेलमा सोलुखुम्बु र उदयपुर बिच ४३–४३ प्वाइन्टको बराबरी खेल्दै १–१ अङ्क बाँडेका छन् । प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता रहेको छ । मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, सोलुखुम्बु, सङ्खुवासभा र ओखलढुङ्गाको सहभागिता रहेको छ । भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन् । 
त्यस्तै, कोशी प्रदेश खेलकुद विकास बोर्डले विद्यालयमा अध्ययनरत महिला विद्यार्थीहरूलाई लक्षित गरेर झापाको दमकस्थित हिमालय माविमा ३ दिने ‘महिला सेल्फ डिफेन्स’ आत्मरक्षा तालिम सम्पन्न गरेको छ । पछिल्लो समय महिलाहरू हिंसामा बढ्न थालेकोले खेलका माध्यमबाट आत्मरक्षा गर्न सक्ने बनाउनका लागि कार्यक्रम आयोजना गरिएको हो । 
विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत १ सय ३५ जना छात्राले सहभागिता जनाएका थिए । यो अभियान अन्य जिल्लामा हुने खेलकुद बोर्डले जनाएको छ ।