इटहरी । इटहरी उपमहानगरपालिकाको बजेटलाई लिएर मेयर तथा एमाले पक्षीय जनप्रतिनिधिहरू एक अर्का बिच आरोप प्रत्यारोपमा उत्रिएका छन् । 
मङ्गलवार पत्रकार सम्मेलन गर्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले मेयर हेमकर्ण पौडेलले ठुलो आकारको बजेट ल्याएर इटहरी डुबाउन खोजेको आरोप लगाएका छन् । 
एमाले इटहरी उपमहानगरपालिका संसदीय दलका नेता प्रमोद शेर्पाले यथार्थमा आधारित स्रोतको अनुमान नगरी एक पक्षीय रूपमा ठुलो आकारको बजेट ल्याएर इटहरी डुबाउन लागेको आरोप लगाए । 
नेता शेर्पाले भने,‘चालु आर्थिक वर्षमा अनुमानित भन्दा धेरै कम आय प्राप्त हुँदा अहिले ठुलो रकम भुक्तानी गर्न नसकेको अवस्थामा पुनः ठुलो आकारको बजेट ल्याएर इटहरीलाई आर्थिक रूपमा डुबाउन लागिएको छ । हामी त्यो हुन दिनेछैनौँ ।’
सोमबार मात्रै उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले एमाले जनप्रतिनिधिको कारण ठुलो रकम भुक्तानी गर्न नपाएको आरोप लगाएका थिए । मेयर पौडेलले बहुमतमा रहेका एमाले जनप्रतिनिधिहरूको दम्भले भुक्तानी दिन नसकेको आरोप लगाएका थिए । 
सोही विषयको खण्डन गर्दै एमाले नेता शेर्पाले भुक्तानी दिन एमालेले नरोकेको स्वयम मेयरले नै रोकेको प्रत्यारोप लगाएका छन् । 
एमाले संसदीय दलका सचिव उमेश सुवेदीले मेयर पौडेलले टेबल मुनि र माथिबाट भुक्तानी दिने गरेको गम्भीर आरोप लगाए । 
वडा न. ३का अध्यक्ष समेत रहेका सुवेदीले भने, ‘ भुक्तानी रोक्ने काम स्वयम मेयरबाट भएको छ । कतिपय भुक्तानीहरू टेबल मुनि र माथिबाट दिइने गरिएको छ । मेरै वडाका कतिपय भुक्तानी रोकिएको छ ।’
उनले थप स्पष्ट पार्दै भने,‘आफ्ना नजिकका मान्छेका फाइलहरूको भुक्तानी छिटै हुन्छ, अरूको भुक्तानी आफू अनुकूल नहुँदा सम्म रोकिदिने गरिएको छ । फागुन देखीका फाइलहरू रोकिएका छन् । ’ 
पत्रकार सम्मेलनमा ज्येष्ठ १७ गते सम्म पूर्वाधार तर्फको मात्रै १ अर्ब ५१ करोड र अन्य तर्फ २८ करोड भुक्तानी दिन बाँकी देखिएको जानकारी दिइयो ।  
एमाले जनप्रतिनिधिहरूले मेयर पौडेलले एक पक्षीय रूपमा ल्याएको बजेट पुन पुरानै प्रक्रियाबाट अगाडी बढाउन माग गरेका छन् । 
बजेट पुनः पुरानै प्रक्रियामा फर्काएर पास गर्न कानुनले दिएको अधिकार प्रयोग गर्दै कानुनी लडाई लड्ने एमाले जनप्रतिनिधिहरूले बताएका छन् ।