विराटनगर । खेलकुद प्रतियोगिता भनेको मानसिक तथा शारीरिक स्फूर्तिको लागि हो । त्यही प्रतियोगिताहरू निष्पक्ष हुँदा ठुला पुरस्कारहरू हात लागेको पाइन्छ । तर कतिपय खेलकुदका कार्यक्रमहरू बदनाम हुँदै आएका छन् । प्रशस्त पूर्वाधार हुँदा हुँदै पनि केही कार्यक्रम होटेल, रेस्टुरेन्ट तथा डिस्को र बारहरूमा कार्यक्रम भए भन्ने सुन्दा तपाईँलाई अचम्म लाग्छ सक्छ । कोसी प्रदेश सरकार मातहतको खेलकुद विकास बोर्डले आयोजना गरेको कोसी प्रदेश स्तरीय पुरुष कबड्डी प्रतियोगिता डान्स बारमा आयोजना गरेको पाइएको छ। कोसी प्रदेशमा पूर्वाधार हुँदाहुँदै पनि कतिपय कार्यक्रमहरू बजेट सक्नकै लागि होटेल र रेस्टुरेन्ट तथा बारहरूमा भएको पाइएको हो ।

      खेलकुद विकास बोर्ड कोसी प्रदेशले प्रदेशस्तरीय कबड्डी लिग प्रतियोगिता एकै दिनमा दिनरात गरेर एक डान्स बारमा सकेको छ । खेलकुद विकास बोर्ड कोसी प्रदेशद्वारा आयोजित पुरुष कबड्डी प्रतियोगिताको उद्घाटन बुढीगंगा गाउँपालिकास्थित टंकीसिनुवारीको जेसिज भवनमा गरिएको थियो । विराटनगरको कबर्ड हलमा गर्ने भनिएको कार्यक्रम एकाएक टंकीसिनवारी जेसिजको भवनमा उद्घाटन गरेर विराटनगरस्थित एक डान्स बार रङ्गी गार्डेनमा गरिएको थियो । पूर्वाधार व्यवस्थापन र खेल स्थलको मापदण्ड निरीक्षण नै नगरी प्रतियोगिता आयोजना गरिएको भन्दै खेलकुद विकास बोर्डको आलोचना भएको छ। सहिद रङ्गशालामा रहेको कबर्डहलमा प्रतियोगिता गर्ने भन्दै ठाउँ सारेर टंकीसिनुवारीस्थित जेसिज भवनमा प्रतियोगिता गराउन लागिएपछि खेलाडीले विरोध गरेका थिए । जेसिस भवनभित्र कबड्डी गराउँदा रेफ्री र खेलाडी बस्ने स्थान नपुग्ने र खेलाडी चोटपटकको सम्भावना भएको हुँदा खेलहरू विराटनगर सारिएको कबड्डीका राष्ट्रिय निर्णायक उपेन्द्रप्रसाद यादवले जानकारी दिए । केही विवाद भएपछि त्यहाँबाट विराटनगर सारिएको थियो । विराटनगरको विभिन्न होटलहरु खोज्ने क्रममा प्रदेश खेलकुद विकास बोर्ड डान्स बार रंगी गार्डेनमा पुगेको थियो । प्रतियोगिता असार १५ मा नै गर्ने भनिए पनि त्यो प्रतियोगिता स्थान अभावको कारण देखाउँदै सारिएको थियो । बोर्डका एक पदाधिकारीले प्रतिकुल मौसम र खेल स्थल अभावका कारण होटेलमा कबड्डी आयोजना गर्नुपरेको जानकारी दिए ।

       यद्धपी खेलमा सहभागिता जनाइरहेका खेलाडी भने खेल स्थल अभाव भए पनि बसोबास राम्रो रहेको बताएका छन् । खेलाडी अनुप दर्जीले प्रतियोगिताको ठाउँ अभावको बिच बस्नकोलागि कुनै समस्या नभएको बताए । बर्सातको कारणले गर्दा बाहिर गर्न नसक्ने भनिएकोले होटेलमा कार्यक्रम भएको दाबी कोसी प्रदेश कबड्डी सङ्घको छ । संघका एक पदाधिकारीका अनुसार एकातर्फ गीत गजलहरू चली रहेको थियो, अर्को तर्फ हामी प्रतियोगिता गराउँदा नराम्रो महसुस भएको थियो । सहिद रङ्गशालामा रहेको कबर्ड हलमा पानी जमेको भन्दै हल्ला चलाइएको भए पनि त्यो बेला कवर्डहलमा कुनै समस्या नभएको पाइएको छ । बोर्ड मातहत रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन पोखरेलका अनुसार, सहिद मैदानको कभर्ड हलमा खेल गराउन सकिने वातावरण रहेको थियो । भोजपुर र खोटाङको सहभागिता बिना १२ टोलीले प्रतिस्पर्धा गरिरहेको खेलको पहिलो दिन ३ खेल भएका थिए । प्रतियोगिता चाडै सक्नुपर्ने भन्दै एकै दिन रातीसम्म प्रतियोगिता गराएर खेल सकिएको छ। एकै दिन ६ वटा खेल खेलाएको थियो । कोसी प्रदेश कबड्डी प्रतियोगिता कोलागि बोर्डले १० लाख छुटाएको थियो । त्यो बजेट सक्नकोलागि रातारात प्रतियोगिताको आयोजना गरिएको भन्दै संघका पदाधिकारी नै सन्तुष्ट थिएनन् ।

        प्रतियोगिता गर्ने जिम्मा संघलाई दिइएको भनिए पनि सबै खर्च बोर्ड आफैँले गरेको छ । प्राविधिक सहयोग मात्र कोसी प्रदेश कबड्डी संघले गरेको संघका उपाध्यक्ष भुवनेश्वर मण्डलको छ । ‘त्यहाँको होटेल बुक गर्ने, प्रतियोगिता गराउने सबै काम खेलकुद विकास बोर्डले गरेको हो, उनले भने, बोर्डले के के गर्‍यो हामीलाई थाहा छैन, हामीलाई रेफ्री दिन भनिएको थियो, हामीले त्यही गरेका हौँ, त्यो बापत भत्ता रेफ्री साथीहरूले लिनु भएको छ ।’ प्रतियोगितामा प्राविधिक सहयोग बाहेक अरू काममा कबड्डी सङ्घको संलग्नता नरहेको दाबी गरिएको छ। कोसी प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव पर्शुराम बस्नेत कृष्णले प्रतियोगितालाई व्यवस्थित गर्नकोलागि होटेलसम्म पुग्नु परेको बताएका छन् । उनले प्रतियोगिता गराउने स्थल अभावको कारण होटेलमा कार्यक्रम गरिएको बताए ।