विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अबको तिन वर्ष भित्रमा प्रदेश संरचनालाई जनता आकर्षित गर्न सक्ने खालको बनाउने बताएका छन् ।  उद्योग कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा शुक्रवार विराटनगरमा सम्पन्न महिला उद्यमी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले  आगामी तिन वर्षभित्रमा जनताले अनुभूति गर्ने खालको प्रदेश संरचना बनाउने बताए ।  
‘प्रदेश संरचना चाहिन्छ की चाहिँदैन भनेर अहिले कतै सोध्यो वा बोल्यो भने ८०  देखि ९० प्रतिशत जनताले  चाहिँदैन भनेर हात उठाउँछन्,’ कार्कीले भने,  ‘प्रदेश सरकारका पनि केही कमजोरीहरू छन् त्यसलाई सच्याएर  अबको दुई देखि तिन वर्षभित्रमा प्रदेश संरचना चाहिन्छ भन्ने बनाउनु मुख्यमन्त्री, मन्त्री, सांसदहरू र कर्मचारी सबैको दायित्व र चुनौती हो ।’
विभिन्न व्यक्तिहरूले अहिले पनि संविधान संशोधन गर्नुपर्छ र प्रदेश हटाउनुपर्छ सङ्घ र स्थानीय दुई तह मात्रै राख्दा हुन्छ भनेर पैरवी गरिरहेको बताउँदै उनले अबका केही वर्षपछि प्रदेश सरकार चाहिन्छ कि चाहिँदैन भनेर सोध्दा केन्द्र र स्थानीय जान्दैनौ प्रदेश चाहिन्छ भन्ने बनाउने प्रतिबद्धता व्यक्त गरे  ।  अहिले स्थानीय तहले पनि प्रदेश चाहिन्छ भनिहाल्दैन र सङ्घले पनि चाहिन्छ भनिहाल्दैन । संविधान कानुन  अनुसार यसो बोली मिलाउने मात्रै हो,’ उनले भने,   ‘तर म दाबाका साथ भन्न सक्छु प्रदेश सरकारले जतिको भौतिक संरचनाको विकास न त स्थानीय तहले गरेको छ न त सङ्घीय सरकारले नै ।’  
प्रदेशमा सञ्चालित उद्योग व्यवसायलाई प्रवर्द्धन गर्न कानुन तर्जुमा तथा नीतिगत व्यवस्था गर्नुका साथै सरकारका तर्फबाट आवश्यक बजेटको समेत व्यवस्था गरी यी क्षेत्रहरूलाई अगाडी बढाउने बताए ।  स्थानीय कृषि उत्पादनमा आधारित लघु उद्योगहरूलाई प्रवर्धन गर्दै विश्व बजारीकरण गर्ने र यसको माध्यमबाट रोजगारको सिर्जना साथै विदेशी मुद्रा आर्जन गर्दै  आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ प्रदेश सरकारले काम गरिरहेको उनले बताए । 
449534404_1442276526448520_7597211802589405459_n
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डाक्टर लेखराज दाहालले आगामी आर्थिक वर्ष देखि महिला उद्यमीहरु कालागि प्रविधि हस्तान्तरण कार्यक्रम राखिएको जानकारी दिए ।  घरेलु तथा साना उद्योग कार्यालयको मार्फतबाट महिला उद्यमीहरूलाई प्रविधि हस्तान्तरणमा सहयोग गर्ने उनको दाबी छ। 
कार्यक्रममा कोशी प्रदेशमा रहेर उद्यम र उद्यमशीलताको क्षेत्रमा निरन्तर रूपमा योगदान गर्ने १४ जना महिला उद्यमीहरूलाई सम्मानित गरिएको थियो । १४ वटै जिल्लाबाट छनौट गरिएका उद्यमी महिलालाई प्रदेश सरकारले प्रदान गर्ने प्रदेश उत्कृष्ट महिला उद्यमी तथा महिला लघु उद्यमी पुरस्कार २०८० बाट पुरस्कृत गरिएको हो । जसमा सोलुखुम्बुकी पासाङ ल्हामु तामाङ, मोरङकी स्वरसोती सुब्बा, सुनसरीकी निर्मला खतिवडा, उदयपुरकी हेमकुमारी सार्की, सङ्खुवासभाकी मनकला राई, तेह्रथुमकी विमला केरुङ, ओखलढुङ्गाकी रामकुमारी बस्नेत, भोजपुरकी निर्मला श्रेष्ठ, पाँचथरकी लक्की सुजी, ताप्लेजुङकी सानु माया लिम्बु, धनकुटाकी डोरश्वरी राई, खोटाङकी उषा खत्री, इलामकी रमिला राई र झापाकी भूमिका देवी दाहाललाई पुरस्कृत गरिएको छ ।