काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी फागुन १५ गते गर्ने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले २०८१ सालको शैक्षिक क्यालेन्डर स्वीकृत गर्दै स्ववियु निर्वाचन २०८१ फागुन १५ गते स्ववियु निर्वाचन गर्ने समेत निर्णय गरेको हो । 

शैक्षिक क्यालेन्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको हो । त्यस्तै अर्को निर्वाचन २०८३ को फागुन १४ गते हुनेछ । यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन गरेको थियो । चैत ५ गते त्रिविका ६२ वटा आंगिक क्याम्पसहरूमध्ये उक्त दिन ४४ मा निर्वाचन भएको थियो । केही आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा पछि समेत निर्वाचन भएको थियो । लामो समयपछि त्रिविले स्ववियु निर्वाचन गराउन सफल भएको थियो । 

हरेक दुई वर्षमा स्ववियु निर्वाचन गराउनुपर्ने त्रिविको कानुनी प्रावधान छ । तर लामो समयदेखि निर्वाचन हुने सकेको थिएन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै निर्वाचनका लागि ग्रिन सिग्नल दिएपछि २०७९ मा निर्वाचन सम्पन्न भएको थियो ।