सुनसरी । आदिकवि भानुभक्त आचार्यको २ सय ११ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी आज मनाइदैंछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित रामायणमा प्रस्तुत गर्नुभएको थियो । वधुशिक्षा उहाँको अर्को प्रसिद्ध कृति हो ।

यसैगरी, उहाँका प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा पर्नुभएका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र भोलिवाद का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो । आदिकवि भानुभक्तले नेपाललाई भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । 

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । विक्रम सम्वत १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनी अर्ति उपदेश दिएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो ।