सुनसरी । इटहरीमा जगन्नाथ रथयात्रा निकालिएको छ । शनिवार दिउसो दोस्रो जगन्नाथ रथयात्रा निकालिएको हो ।

इस्कोन इटहरीले भगवान् जगन्नाथ, बलदेव र सुभद्रालाई रथारोहण गराइ, भजनकिर्तन, विभिन्न झाँकी सहितको रथले इटहरी नगरको परिक्रमा गरेको थियो । यसअघि गत वर्ष पहिलो जगन्नाथ रथयात्रा निकालिएको थियो । यसबर्ष पनि रथयात्रालाई निरन्तरता दिइएको इस्कोन इटहरीले जनाएको छ । रथयात्रा इस्कोन इटहरीको कार्यालय हटिया लाइनबाट सुरु भई मुख्य चौक हुँदै पश्चिम लाइन हुँदै त्यहाँबाट घुमेर धरान लाइन गोरखा डिपार्टमेन्ट स्टोर हुँदै मुख्य चौकबाट पूर्व लाइन हुँदै मिलन चौकसम्म पुगेको थियो । 

मिलन चौकबाट हटिया लाइन हुँदै राधाकृष्ण शिव मन्दिर परिसरमा पुगेर समापन गरिएको  थियो । रथयात्राका लागि देशका विभिन्न स्थानहरूबाट भक्तजनहरू इटहरी आएर सहभागिता जनाएको इस्कोन इटहरीले जनाएको छ । भारतको उडिसामा आयोजना हुने वृहत् जगन्नाथ रथयात्रा भएको लगत्तैको शनिवार पारेर इटहरीमा रथयात्रा गरिएको इस्कोन इटहरीले जानकारी दिएको छ ।