विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अबको तिन वर्षभित्रमा कोशी प्रदेशलाई खेलकुदको महत्त्वपूर्ण गन्तव्य बनाउने बताएका छन्  ।  कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा  विराटनगरमा आयोजित खेलाडी तथा खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले  राजनीतिक अस्थिरताका कारण यहाँको खेल क्षेत्रको विकास सोचेजस्तो हुन नसकेको बताए ।  अब चाँडै नै कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताको  अन्त्य गर्दै आगामी तिन वर्ष भित्र कोशी प्रदेशलाई खेलकुदको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने बताए । 
क्रिकेटको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउन सफल भए पनि राज्यको लगानी र ध्यान नपुग्दा फुटबल, भलिबल लगायत अन्य खेलकुदका विधामा जुन ढङ्गले  खेल क्षेत्र अन्तर्राष्ट्रियकरण हुनुपर्ने थियो त्यो हुन नसकेको मुख्यमन्त्री कार्कीको भनाइ छ । सरकारको निकाय खेलकुद परिषद्ले खेल क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको भए पनि उपलब्धि दिन नसकेको बताएका हुन् ।   राज्यले खेलकुदका लागि बनाएको नीति र कानुन लगायत व्यवस्थापकीय प्रबन्धहरुमा पनि राज्य चुकेको उनको भनाई छ। खेल क्षेत्रको विकासकालागि तिन तहका सरकार बिच समन्वय हुन जरुरी रहेको भए पनि त्यो हुन नसकेको मुख्यमन्त्री कार्कीले बताए ।  ‘राज्यको पुनर्संरचना अहिले स्थानीय, प्रदेश र सङ्घबाट खेलकुदको विकासकालागि केही पहल र प्रयत्नहरू भएका छन्,’ मुख्यमन्त्री कार्कीले भने, ‘यद्यपि खेलकुदको विकासकालागि तिन तहबिच समन्वयात्मक पहल भने हुन सकेको छैन । यस कारणले पनि खेल क्षेत्र पछाडि परेको महसुस भएको छ ।’ 
प्रदेशको संरचना बनेपछि सबै प्रदेशमा खेलकुद विकास बोर्ड, परिषद्हरू बनेका छन् तर प्रदेशमा देखिएको राजनीतिक अस्थिरता कारण ६÷६ महिनामा हुने सरकार परिवर्तनले खेल क्षेत्र प्राथमिकतामा पर्न नसकेको उनको भनाई छ । 
‘कोशी प्रदेशमा पनि खेल क्षेत्रको विकासका लागि खेलकुद विकास बोर्ड गठन गरिएको छ । तर  त्यो पनि यहाँको राजनीतिक अस्थिरताको सिकार बन्यो,’ मुख्यमन्त्री कार्कीले भने,  ‘यद्यपि न्यायालयको फैसलापछि  अब भने खेलकुद क्षेत्रलाई पुनः सङ्गठित गर्दैछौं अब चाँडै खेलकुदको विकासकालागि बनाएका ऐन कानुनमा रहेका कमजोरीहरूलाई सच्याउँदै यसको माध्यमबाट कोशी प्रदेश स्तरीय खेलकुद परिषद् निर्माण गर्नेछौँ ।’ 
परिषद्को निर्माणपछि प्रदेशको खेलकुदको क्षेत्रमा नीतिगत र व्यवस्थापकीय प्रबन्धहरू, खेलकुदको समग्र विकासकालागि चाहिने संरचनागत विकास र खेलकुदका लागि चाहिने आवश्यक बजेटको व्यवस्था गरेर खेलकुदलाई अगाडी बढाइने कार्कीको प्रतिबद्धता छ । खेलकुदका लागि कोशी प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको प्रदेश स्तरीय रङ्गशाला बनाउने, विराटनगरस्थित बैजनाथपुरमा रहेको क्रिकेट रङ्गशालालाई प्रदेश मातहतमा ल्याएर निर्माण गर्ने, इनडोर र आउटडोर खेलका संरचनाहरू विराटनगरमा निर्माण गरिने तयारी भइरहेको कार्कीले बताए ।  झापामा आदिवासी जनजाति रङ्गशाला निर्माण गरेर अन्तर्राष्ट्रिय खेलकुदको थलोको रूपमा विकास गर्न नेपाल सरकारसँग आवश्यक पहल भइरहेको उनले जानकारी दिए ।
कार्यक्रममा भर्खरै सम्पन्न अन्तर प्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त खेलाडी तथा खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका  दुई सय व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । सोही अवसरमा खेल क्षेत्रमा कलम चलाउने पत्रकार नवीन अर्याल, भूमिका पाख्रिन, भूमिराज पराजुली, चुमन बस्नेत, किशोर बुढाथोकी, पुष्पराज थपलिया, लगायतका सञ्चारकर्मीहरूलाई  नगद सहित सम्मान गरिएको थियो ।