सुनसरी - वरिष्ठ कवि कुन्ता शर्मा सम्मानित हुनुभएको छ । इटहरी लेडी जेसीजको जेसीज सप्ताहको समापनको अवसर पारेर वरिष्ठ कवि शर्मालाई नगद सहित सम्मान गरेको छ ।
कार्यक्रममा शर्मालाई कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकणर् राई र इटहरी लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेले सम्मान गरेका हुन । नेपाली वाङ्मय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको र महिलाहरूकी उत्प्रेरणाकी स्रोत रहेको भन्दै शर्मालाई नगद १० हजार सहित सम्मान गरिएको अध्यक्ष काफ्लेले जानकारी दिइन । कार्यक्रममा कविहरू मनु मञ्जिल, देवान किराती, टीका आत्रेय, हेमन यात्री, प्रज्वल पराजुली, शुभ लक्ष्मी लम्साल, रमेश सायन, युवराज काफ्ले, शकुन्तला मञ्जरी, विवेक रेग्मी, किरण शिवा, अञ्जना पोखरेलले कविता वाचन गरेका थिए । 
    कार्यक्रममा जेसीजकी अध्यक्ष इन्दिरा काफ्लेले सप्ताह कार्यक्रमभरी विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेको बताइन् । सप्ताहको पहिलो दिन असार २२ गते नेपाल जेसीजका संस्थापक अध्यक्ष भेषबहादुर थापालाई सम्मान गरिएको थियो । साथै, अर्थ तथा परराष्ट्र नीति र यसको प्रभावबारे विमर्श कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा डा. मीनेन्द्र रिजाल र डा. विमला पौडेल वक्ता थिए । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए ।