सुनसरी । जलमार्गबाट लागु औषधको कारोबार बढेको भन्दै सप्तकोसी नदीमा निगरानी बढाउने र सुरक्षाकर्मीलाई अधिकतम बल प्रयोग गर्न दिन चार जिल्लाका सुरक्षा अधिकारी सहमत भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीको आयोजनामा सोमबार भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा पछिल्लो समय लागु औषध कारोबारीले जलमार्गबाट तस्करी बढाएपछि सुरक्षाकर्मीलाई अधिकतम बल प्रयोग गरी नियन्त्रण गर्न अनुमति दिने निर्णय गरेको हो । भेडेटारमा सम्पन्न अन्तर जिल्ला सुरक्षा बैठकमा सुनसरी, उदयपुर, धनकुटा र भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र कोसी प्रदेशका तीन वटै सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षक डिआइजी सम्मिलित बैठकले रातीको समयमा सप्तकोसी नदीमा मोटर बोट तथा डुंगा सञ्चालनमा रोक लगाइने निर्णय पनि गरेको छ ।
सप्तकोसी नदीमा पानीको बहाव बढेपछि एक महिनायता मोटर बोट तथा डुंगा सञ्चालन भएका छैनन् । बहाव घटेपछि सप्तकोसी नदीमा रातीको समयमा मोटर बोट, ढुंगा तथा अन्य साधनहरू सञ्चालनमा रोक लगाइने निर्णय भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
पछिल्लो समय पूर्वी पहाडी जिल्लाबाट गाँजा लगायतका लागु औषधको ओसारपसार सप्तकोसी नदीको जलमार्गबाट बढेको भन्दै कारोबारीलाई नियन्त्रणमा लिन नदी आसपासका जिल्लामा खटिने सुरक्षाकर्मीलाई गोली हान्न सक्ने सम्मको अधिकार दिइएको प्रतिअ तिवारीले जानकारी दिनुभयो ।
लागु औषध कारोबारीले मोटर बोट, डुंगा, ट्युब र बाँसको चाङभित्र लुकाएर गाँजा भारत तर्फ तस्करी हुने गरेको छ । तस्करहरूले रातीको समय र बिहान झिसमिसेमा बढी जसो तस्करी गर्ने गरेको सुरक्षाअधिकारीहरुको भनाई छ ।
जलमार्गमा सुरक्षा चेकिङ गर्न अप्ठ्यारो हुने भएपछि कारोबारीले यो मार्ग बढी प्रयोग गरेपछि प्रशासनले सक्रियता बढाएको जनाएको छ ।